काठमाडौँ । पार्टी एकिकरणको प्रक्रियालाई मुर्त रुप दिन सत्तारुढ दल नेकपाको सचिवालय बैठक आइतबार दिउँसो एक बजे बस्दैछ । आजको बैठकले जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेताहरुले बताएका छन् ।
सचिवालय बैठक नेताहरुले आ–आफ्ना धारणा राख्ने बताइएको छ । यसअघि दुई अध्यक्ष केपी अोली र प्रचण्डबीच संख्यामा सहमति भएपनि व्यक्तिमा सहमति नभएकाले त्यसैको गृहकार्यमा दुवै पक्ष लागि परेको बताईको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको सहभागी एक नेताले बताएका छन् ।
नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमति भइसकेको छ । नेकपाको महत्वपुर्ण विभागहरुमध्ये अर्थ,संगठन, प्रचार र विदेश विभाग कसले पाउछन् भन्ने चासो बढ्दै गएको छ ।