बैतडी । बिद्यार्थीको हक हित र अधिकारका लागि भन्दै बिभिन्न शैक्षिक संस्थाहरुमा राजनीतिक दल निकट बिद्यार्थी भातृ संगठनहरु खोलिने गरेका छन् । तर, ति संगठनहरु बिद्यार्थीको हितबिपरित अराजकता तर्फ प्रेरित भई अनुशासन भन्दा बाहिर गएर शैक्षिक संस्थाको बदनाम हुने काममा कृयाशिल हुने गरेका गुनासाहरु बेलाबेलामा सुनिने गर्छन् । यसै सन्दर्भलाई मध्यनजर गरेर बैतडी स्थित गोकुलेश्वर कृषि तथा पशुु बिज्ञान कलेजले सबै राजनीतिक दल निकट बिद्यार्थी भातृसंगठनहरु खारेज गरेको छ ।
भविष्यका कर्णधार मानिने बिधार्थीहरु अनुशासित, कर्तव्यनिष्ठ तथा नैतिकवान हुनुका सट्टा बिद्याथीहरु बिद्यार्थीहरु दिनानुदिन अराजक बन्दै गएको र संगठनका कारण कलेजको वातावरण नै खलबल्याउने कार्य भएकाले वाध्य भएर आफुहरुले यस्तो कदम चाल्नु परेको क्याम्पस प्रमुख परमानन्द जोशीले बताए ।
उनले भने, अब हाम्रो कलेजमा कुनै पनि राजनीतिक दलका संगठनहरुले राजनीतिक कृयाकलाप गर्न पाउने छैनन् । बिद्यार्थीको पढाइलाई ध्यानमा राखेर यस्तो कदम चालिएको उनले बताए । तर, कलेजमा बिद्यार्थी संगठन नै खारेज गरेर बिद्यार्थीमाथि निरंकुशता लाद्न खोजेको भन्दै बिद्यार्थी नेताहरुले त्यसको बिरोध गरेका छन् । बिद्यार्थी संगठनलाई नै प्रतिबन्ध लगाइनु सरासर गलत भएको र बिद्यार्थी राजनीतिमा इतिहासकै अप्रिय र लज्जास्पद घटना भएको भन्दै उनीहरुले यसको बिरोध गरेका छन् ।
सोही क्याम्पसका पुर्व विद्यार्थी नेताहरुले क्याम्पस प्रमुख र संचालक समितिका पदाधिकारीहरुले नियोजित रुपमा क्याम्पसमा विद्यार्र्थी संगठन खारेज गरेको बताउँछन् । क्याम्पसले गर्ने जस्तोसुकै निर्णयमा पनि हस्तक्षेप नहोस भनेर नै विद्यार्थी संगठन खारेज गरिएको विद्यार्थी नेताहरुको आरोप छ ।

हाल क्याम्पसमा रहेका दुई विद्यार्थी संगठन अनेरास्ववियू र नेपाल विद्यार्थी संगठनले विज्ञप्ति निकालेर नै क्याम्पसमा राजनीतिक संगठन खारेज गर्न अनुरोध गरिएको पाइएको छ । तर दुवै संगठनले निकालेको विज्ञप्तीको भाषाशैली एउटै भएको कारण नियोजित रुपमा विज्ञप्ति जारी गराइएको विद्यार्थी संगठनका नेताहरुले बताए ।

अनेरास्ववियुु र नेपाल विद्यार्थी संघले निकालेको विज्ञप्तिमा विद्यार्थी संगठनले क्याम्पसका विद्यार्थीहरुलाई नाफा भन्दा घाटा पुर्याउने काम गरेको भन्दै सबै संगठनहरुको खारेजीको माग गरिएको छ । तर, क्याम्पसमा सोही विद्यार्थी संगठनका अन्य नेता कार्यकर्ताहरुले भने कही सीमित व्यक्तिहरुलाई प्रलोभनमा पारेर नियोजित रुपमा क्याम्पसका संचालकहरु लागेका बताए ।