सत्यवति पहिरोमा परि एकै परिवारको ६ जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

दियो पोस्ट  

काठमाडौँ, साउन ८ । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा आएको पहिरोमा परि मृत्यु हुनेको संख्या एघार पुगेको छ । बुधबार थप २ जना बालिकाको शव प्रहरीले फेला पारेपछि मृतकको संख्या एघार पुगेको हो ।

पहिरोमा परि एकै परिवारका ६ जनाको मृत्यु भएको छ । ७० बर्षका छविलाल विक, २९ बर्षिया पम्फा विक, १२ बर्षिया अञ्जली विक, ९ बर्षीया सीवानी विक , ५ बर्षीय हिमान्सु विक रहेका छन् । पहिरोमा परि मंगलबारसम्म ८ जनाको निधन भइसकेको थियो ।

पहिरोको जोखिममा रहेका घरबाट करिब पाँच सयजनालाई सुरक्षित रुपमा स्कुलमा राखिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् । चौतर्फी बाटो अवरुद्ध हुँदा खाद्यान्न अभाव भएको उनले बताए । त्यस्तै उद्धार र राहतको लागि पनि केही गाह्रो भएको उनले बताए । पानी परेको कारणले हेलिकप्टरमार्फत खाद्यान्न ल्याउन नसकिएको अध्यक्ष ढकाल बताउँछन् ।