लमजुङ, साउन ९ । बुधबार लमजुङको दोर्दी खोलमा आएको बाढीले एघार जना मजदुरहरुलाई बगाएको थियो । बगाएका मध्य ४ जना मृत अवस्थामा भेटिए । उनिहरुको सनाखत समेत भइसकेको छ भने अझै ६ जना वेपत्ता रहेका छन् ।
मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ५० बर्षिय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेताल नपा–६ का ५० बर्षिय रमेश बुढा, बाराको जितपुर उपमहानगरपालिकाका ३५ बर्षिय शिवलाल चौधरी र ३५ बर्षिय साहित अन्सारी रहेका छन् ।
उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ । दोर्दी गाउँपालिकाको वडा नं ४ शेरापुल नजिकै दुईजना र वडा नं ६ को किर्तीपुरबेसीमा २ जनाको शव फेला परेको थियो ।
प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार अझै ६ जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी, कञ्चनपुरका देवबहादुर कोली, डडेल्धुराका कर्ण बुढा, भोजपुरका दिवस कटुवाल, बाराका ज्ञानेन्द्र चौधरी र लमजुङ दोर्दी–६ का विनोद तामाङ छन् ।
बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन् ।
मृत्यु र बेपत्ता हुने सबै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार हुन् ।
उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।