काठमाडौँ, साउन १० । गत बर्षको आजकै दिन अर्थात साउन १० गते कञ्चनपुुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियोे । साउन १० गते घरबाट हराएकी निर्मलाको मृत अर्धनग्न शरिर उखुबारीमा भेटिएको थियो ।
घटना भएलगत्तै स्थानिय प्रहरी र जिल्ला प्रहरी कार्यलयका प्रहरी अधिकारीहरु अनुसन्धानमा लागे । तर अनुसन्धानको शुरुवातमै प्रहरीबाट प्रमाण नष्ट गर्ने काम भयो ।
प्रारम्भिक चरणमै प्रहरीले गम्भिर लापरवाही गरेपछि घटनाको दोषी पत्ता लगाउन सरकारलाई नै चुनौती खडा भयो । घटनाको अनुसन्धानकोे क्रममा प्रहरीले निर्दोष स्थानियहरुलाई समेत हिरासतमा लिएर शारीरिक र मानिसक यातना दिए ।
जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज विष्टले अपराधीलाई संरक्षण गर्न खोजेको भन्दै कञ्चनपुरमा चर्को आन्दोलन भयो । चौतर्फी दबाव भएपछि सरकारले एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई कञ्चनपुर प्रहरीको प्रमुख बनाएर पठायो तर प्रहरीले चलाएको गोली लागेर शनि खुना नाम गरेका बालकको मृत्यु भयोे । त्यसपछि घटनाले देशव्यापी रुप लियो ।
घटनाको अनुसन्धान गर्नका लागि सरकारले उच्चस्तरिय छानविन समिति बनाएर कञ्चनपुर पठायो तर अपराधीको सुइँको समेत पाउन सकेन । उल्टो छानविनमा संलग्न अधिकारीहरु नै अपराधीलाई बचाउन लागेको भन्दै कारवाहीमा परे । भदौ ७ गते सरकारले हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरिय छानविन समिति गठन गरि कञ्चनपुर पठाएको थियो । समितिले कञ्चनपुरमा बसेर एक महिनासम्म अनुसन्धान गरि प्रतिवेदन तयार पार्यो । प्रतिवेदनमा पहरीले प्रमाण नष्ट गरेको, चलाउनुपर्ने अवस्था नहुँदा पनि गोली चलाएको भन्दै एआइजी धिरु बस्न्यातको संयोजकत्वमा प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानविन टोली गठन गर्यो । उक्त टोलीकोे प्रतिवेदनअनुसार तात्कालीन प्रहरी उपरिक्षक डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश भट्टलगायतलाई भविष्यमा अयोग्य नहुनेगरि वर्खास्त गरियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी लगायत ६ जना प्रहरी निलम्बनमा परे ।
अनुसन्धानको क्रममा तात्कालिन एसपी विष्ट लगायत माथिल्लो निकायका अधिकारीसहित ८० जना भन्दा बढीको डिएनए परिक्षण भयो तर कसैसंग पनि निर्मलाको भेजाइनल स्वाव मेल खाएन । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नै घटनाको अनुसन्धानमा जुटे तर केही पार लागेन । एक बर्षको अवधीमा कञ्चपुर भीमदत्तका स्थानिय लगायत अन्य गरि ६ सय जनाभन्दा बढी व्यक्तिसंग प्रहरीले सोधपुछ गरिसकेको छ ।
प्रहरीमाथि नै उजुरी
अनुसन्धानको क्रममा प्रहरीले नै प्रमाण नष्ट गराउने र निर्दोष मानिसलाई नियोजित रुपमा अपराधी सावित गराउन खोजिएपछि प्रहरीविरुद्ध नै उजुरी पर्यो । अनुसन्धानको नाममा प्रमाण नष्ट गरेको भन्दै निर्मला पन्तकी आमा दुर्गादेवि पन्तले ८ जना प्रहरी अधिकारीविरुद्ध उजुरी दर्ता गरिन् । त्यस्तै मानसिक सन्तुलन गुमाएका दिलिप विष्टलाई प्रहरीले यातना दिएको भन्दै उनका दाजु खड्ग विष्टले उजुरी हाले । उजुरी गरिएका सबै प्रहरी अधिकारीहरु धरौटीमा रिहा भए ।
सरकार र प्रहरीले निर्मला पन्तको हत्यारालाई जसरी भएपनि सार्वजनिक गर्ने बताएपनि प्रमाण नहुँदा दोषीको अनिश्चितता बढ्दै गइरहेको छ । निर्मलाको परिवारलाई सरकारले केही राहत दिएको भएतापनि आफ्नो छोरीको हत्यारा पक्राउ पर्न नसक्दा आमा दुर्गादेविले अझैपनि न्यायको श्वास फेर्न पाएकी छैनन् ।