काठमाडौँ, साउन १० । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ मा आएको पहिरोमा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । मंगलबार रातिबाट आएको पहिरोमा परि एकै घरका ६ जनासम्मले ज्यान गुमाएका छन् ।
मृत्यु हुने १३ जनाको शव परिवारले बुझेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् । मृत्यु हुनेमा डेढ बर्षीय बालक सञ्जु विक, तारा बिक, माया बिक, बवि विक, निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक, सिवानी विक, तिल कुमारी तरामु, छोरा दर्शन तरामु र दुर्गाबहादुर रहेका छन् ।
पहिरोमा घाइते भएका दुइजनालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहितको टोलीले हेलिकप्टरमा राखेर काठमाडौँ ल्याएको छ । पहिरोले पुर्याएको क्षतिको निरिक्षण गर्न गृहजिल्ला पुगेका ज्ञवालीले घाइतेलाई आफु चढेको हेलिकप्टरमा काठमाडौँसम्म ल्याएका छन् । दुई घाइतेहरुको काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
पहिरोबाट ६ सय घर विस्थापित भएका छन् । उनिहरुलाई सुरक्षित स्थानमा राखिएको अध्यक्ष ढकालले बताए । राहतको लागि हेलिकप्टरमार्फट खाद्यान्न झारिएको छ । पहिरोले सडक अवरुद्ध भएपछि यातायात अवरुद्ध भएको कारणले हेलिकप्टरमार्फत अत्यावश्य खाद्यान्न झारिएको छ । पानी परिरहेको कारण अझै जोखिम भएको कारण सर्वसाधारणलाई सचेत गराइएको छ ।