नुवाकोट जिल्ला अस्पतालमा सुत्केरीको मृत्यु, अस्पतालले ५० हजार मात्र दिने

दियो पोस्ट  

काठमाडौँ, साउन १० । नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ की ३५ बर्षीया गोमा वस्तीको उपचारको क्रममा मृत्यु भएको हो ।

सुत्केरी गराउन असहज भएपछि अस्पताल पम्पिङ गरेर बच्चा निकालेको थियो । त्यसपछि अत्याधिक रक्तश्राव भएपछि जिल्ला अस्पतालले काठमाडौँको शिक्षण अस्पताल रिफर गरेको हो । गोमालाई टिचिङ अस्पताल ल्याउनका लागि जिल्लाका जनप्रतिनिधिहरुको पहलमा आकस्मिक रुपमा हेलिकप्टर मगाइएको थियो । बच्चालाई पनि श्वासप्रश्वासमा कठिनाई भएपछि कान्ति वाल अस्पतालको आइसीयूमा राखिएको छ । हेलिकप्टरमा हालेर ल्याइँदैै गर्दा गोमाले देह त्याग गरिसकेको र अस्पतालले पनि उनको मृत्यु भइसकेको बताएको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले दियोपोस्टलाई बताए ।

अस्पतालको चरम लापरबाहीको कारण नै सुत्केरीको मृत्यु भएको भन्दै जिल्ला अस्पताल त्रिशुलीको परिसरमा आफन्तहरुले आन्दोलन गरेका थिए । उनिहरुल वेलकोटढिगी नगरपालिकाको रातमाटे, महादेव फाँट लगायतका स्थानमा काठको मुढा राखि सडक अवरुद्ध गरेका हुन ।

अस्पतालले विरामीको मृत्यु हुनुमा डक्टरको लापरवाही भएको कुरा अस्वीकार गरेको छ । बच्चा जन्मिएपछि सुत्केरी महिलाको अत्याधिक रक्तश्राव भएर स्थिति असामान्य बनेको बताएको छ । यस्तो अवस्था अपवादमा हुने हुँदा अस्पतालको कुनै गल्ती नभएको अस्पताल प्रशासनको दावि छ ।

सुत्केरीको मृत्यु भएपछि अस्पतालले प्रहरी प्रशासन र पीडितलाई राखेर वार्ता गरेको छ । अस्पतालले यस्तो घटना फेरि नदोहोर्याउने र हालको घटनाको छानविनका लागि समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउने सहमती भएको अध्यक्ष रमेश वस्तीले बताए । त्यस्तै गाउँपालिकाले नवजात शिशुको नाममा एक लाखको अक्षय कोष खडा गरिदिने र त्यसमा अस्पतालले ५० हजार थप्ने सहमती भएको छ । सुत्केरीलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको शुल्क विदुर नगरपालिकाले व्यहोर्ने भएको छ । सहमतीपछि आन्दोलित बनेका आफन्तहरु सामान्य अवस्थामा आइसकेका छन् भने अवरुद्ध पारिएको बाटो पनि खुलेको छ ।