झ्याप्लेखोलामा एक युवा मृत अवस्थामा भेटिए, गाडीले किचेको हुनसक्ने प्रहरीको अनुमान

दियो पोस्ट  

काठमाडौँ, साउन ११ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ झ्याप्लेखोलामा एक युवकलाई मृत अवस्थामा भेटिएको छ । झ्याप्लेखोला सडक किनारको एक होटल अगाडी उनको शव भेटिएको हो ।

अन्दाजी ३० बर्षका युवकलाई सवारी साधनले ठक्कर दिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा आफुहरुलाई केही थाहा नभएको स्थानिय होटल व्यवसायीहरुले बताएका छन् । उनको टाउको किचिएको र रगत बगेको अवस्थामा भेटिएको हो ।

महानगरिय प्रहरी प्रभाग नागढुंगा बाट प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान र मुचुल्का उठाएको छ । मृतकको सनाखत हुन नसकेको र आफन्तको खोजी भइरहेको इन्पेक्टर खड्काले दियोपोस्टलाई बताए । उनले घटना कसरी भयो भनेर पत्ता लगाउनका लागि शुक्रबार राती चलेका सवारी साधनहरुको विवरण संकलनको काम भइरहेको बताएका छन् ।