काठमाडौँ, साउन ११ । विप्लव नेतृत्वको नेकपाले पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा ‘प्रज्वल’ को रिहाईको मागसहित चरणबद्ध आन्दोलको घोषणा गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ती जारी गर्दै सरकारलाइ दवाब दिनका लागि साउन ११ देखि चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।
विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई तानाशाहीको संज्ञा दिँदै राजनीतिक ब्यक्तित्वलाई नियोजित रुपमा गिरफ्तार गरेको आरोप लगाएको छ । विज्ञप्तीमा सरकारलाई राष्ट्रघाती, व्यभिचारी, लुटेरा, हत्यारा, दलाल, गुण्डाको संज्ञा दिँदै प्रतिकारमा उत्रिने चेतावनी दिएको छ । साउन ११ गते प्रचार–प्रसार गर्ने १२ गते कोणसभा गर्ने, १३ गते जनप्रतिरोध र जनकारवाही गर्ने र १४ गते मसाल जुलुस गर्दै १५ गते नेपाल बन्द गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाले १५ गते बागमती, नारायणी, जनकपुर र रामेछाप तथा दोलखा जिल्लामा बन्द आह्वान गरेको छ ।
विज्ञप्तिमा प्रकाण्डले भनेका छन्, ‘२०६२÷०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । त्यसको विरुद्ध हाम्रो पार्टीले लगातार संघर्ष गर्दै आएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ । सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछ ।’
गत साउन ४ गते राति सुतिरहेको अवस्थामा लामालाई काँडाघारीबाट पक्राउ गरेको हो । प्रशासनले लामाविरुद्ध उपत्यकामा चन्दा आतंक मच्चाएको आरोप लगाउँदै सोही मुद्धामा पक्राउ गरेको बताएको छ ।
विज्ञप्ती