काठमाडौँ, साउन १२ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा सिंगापुरले नेपालसामु १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले निर्धारित २० ओभर खेल्दै विकेटको क्षतिमा १ सय ९१ रन बनाएको हो ।
सिंंगापुरका लागि तिमोथी डेविडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गर्दै उनले ४३ बल खेल्दै ८ चौका र ३ छक्का हिर्काए । त्यस्तै रोेहन रंगरोजनले ४९ रन बनाए । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै अर्का ब्याट्सम्यान मनप्रित सिंहले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले भने सामान्य नै प्रदर्शन गरे ।
नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिए । उनले तिमोथी डेविडको निकै महत्वपुर्ण विकेट लिए । त्यस्तै करन केसीले २ विकेट लिए । नेपालका स्पिनर बलर सन्दीप लामिछाने र सोमपाल कामीले भने आजको खेलमा कुनैपनि विकेट लिन सकेनन् ।
नेपालको लागि आजको खेल जित्नै पर्ने दवाब रहेको छ । नेपालले आजको खेल जितेको खण्डमा मात्र ग्लोवल क्वालिफायरमा सहभागी भई टि–ट्वान्टी विश्वकपमा संलग्न हुन पाउने छन् ।