काठमाडौँ, साउन १२ । सिंगापुर संग ८२ रनको लज्जास्पद हारसंगै टि–ट्वान्टी विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । नेपालको खराब व्याटिङको कारण सिंगापुरविरुद्ध निरिह देखिएको हो । सिंगापुरले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका शूरुवाती ब्याट्सम्यानहरुले निकै खराब ब्याटिङ गरे ।
खेलको तीन ओभरमै कप्तान पारस खड्का आउट भए । शुरुवातमा निकै विस्फोटक व्याटिङ गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि छैठौँ ओभरमा ३९ रन बनाउँदै आउट भए । नेपालका लागि आशा गरिएको मध्यक्रमका ब्याट्सम्यानहरु शरद भेश्वाकर, विनोद भण्डारी, रोहित कुमार पौडेल, करण केसीले निकै खराब प्रदर्शन गरे । दिपेन्द्र्र सिंह ऐरि भने टिकेर खेल्ने प्रयासमा थिए ।
नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनमात्र बनायो । सिंगापुरका सेलाडोर विजयकुमारले सर्वाधिक ४ विकेट लिए । टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभर खेल्दै विकेटको क्षतिमा १ सय ९१ रन बनाएको हो ।
सिंंगापुरका लागि तिमोथी डेविडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गर्दै उनले ४३ बल खेल्दै ८ चौका र ३ छक्का हिर्काए । त्यस्तै रोेहन रंगरोजनले ४९ रन बनाए । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै अर्का ब्याट्सम्यान मनप्रित सिंहले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले भने सामान्य नै प्रदर्शन गरे ।
नेपालका लागि अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिए । उनले तिमोथी डेविडको निकै महत्वपुर्ण विकेट लिए । त्यस्तै करन केसीले २ विकेट लिए । नेपालका स्पिनर बलर सन्दीप लामिछाने र सोमपाल कामीले भने आजको खेलमा कुनैपनि विकेट लिन सकेनन् ।
हारसंगै नेपालको विश्वकप खेल्ने सपना पनि तुहिएको छ । टी–ट्वान्टीको वरियतामा नेपाल ११ औँ स्थानमा छ भने सिंगापुर २३ औँ स्थानमा छ ।