गुल्मी, साउन १५ । खेतमा पानी लगाउने विषयमा झगडा हुँदा गुल्मीको मुसिकोट नगरपालिकामा ज्वाइँले जेठानको हत्या गरेका छन् ।
मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपकुमार बस्नेतले जानकारी दिए ।
जेठानको हत्या गरेपछि कुमाल आफैँ प्रहरी चौकीमा गएर आफूले हत्या गरेको जानकारी गराएका थिए ।
पानीको विवादका क्रममा झडप हुँदा हत्या भएको भनिए पनि हत्याको कारण अरु नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।