
काठमाडौँ, असार १८ । प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा लण्डन क्लव चेल्सी वेस्ट ह्याम सँग पराजित भएको छ । लण्डन स्टेडियममा भएको खेलमा चेल्सी ३–२ गोलले पराजित भएको हो ।
पेनाल्टीमार्फत सुरुवाती अग्रता लिएको चेल्सीले खेल अवधीभर २ गोल प्रहार गर्यो । जवाफमा वेस्टह्यामले ३ गोल गर्दै खेलमा विजयी भएको हो । चेल्सीका लागि ब्राजिलियन स्टार विलियनले २ गोल गरे । खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरेका विलियनले ७२ औँ मिनेटमा थप एक गोल गरे ।
पहिलो हाफको इन्ज्यूरी समयमा टोमस सौसेकले एक गोल गर्दै बराबरीको स्थितिमा पुर्याएका थिए । दोस्रो हाफको ५१ औँ मिनेटमा माइकल एन्टेनियोको प्रहार गोलमा परिणत भएसँगै वेस्ट ह्यामले २–१ गोलको अग्रता लिएको थियो । खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै चेल्सीलाई निराश बनाए ।
लण्डन क्लबबिरुद्ध जित निकाल्दै वेस्ट ह्यामले रेलिगेशनको दबाबबाट बाहिर निस्किएको संकेत गर्यो । चेल्सीको च्याम्पियन्स लिग छनोटको दौड थप प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
चौथो स्थानमा ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन् । वेस्त ह्याम भने ३० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।