
काठमाडौँ, असार २४ । ‘इटालियन सिरि ए’ फुटबलमा युभेन्टस एसी मिलानसँग पराजित भएको छ । मंगलबार राति मिलानको घरेलु मैदानमा भएको खेलमा युभेन्टस ४–२ गोलले पराजित भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा भने गोलको बर्षात् नै भएको थियो । शुरुवाती गोल युभेन्ट्सका एड्रियन राबिओटले गरेका थिए । उनले ४७ औँ मिनेटमा गोल गरेका थिए । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ५३ औँ मिनेटमा गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर बनाएको थियो ।
६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे । थप ५ मिनेटको अन्तरमा फ्रेन्क किसी र राफेल लिओले एसी मिलानलाई ३–२ ले अघि बढाए । खेल सकिन १० मिनेट बाँकी रहदाँ एन्टी रेबिकले गोल गर्दै टोलीलाई शानदार पुनरागमन जित दिलाए ।
पछिल्लो खेलमा पराजित भएसंगै युभेन्ट्सले लिगमा स्पष्ट १० अंकको अग्रता लिने अवसर गुमाएको छ । दोस्रो स्थानको लाजियोले रेलिगेशनबाट बच्न संघर्षरत लिसीसंग २–१ ले पराजित भएसंगै युभेन्ट्सलाई अग्रता बढाउने अवसर थियो ।

प्राप्त जितले उसी मिलानले च्याम्पियन्स लिगका दौडमा अंकगणितीय रुपमा आफुलाई कायमै राखेको छ । मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एसी मिलान चौथो स्थानको एटलान्टा भन्दा १४ अंकले पछाडी छ ।