प्रिमियर लिगः नर्विच सिटीबिरुद्ध चेल्सीको जित

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ३१ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले नर्विच सिटीमाथि विजय प्राप्त गरेको छ । ओलिभर जिराउडको एकमात्र गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको हो ।

मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो ।

च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठुलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । दायाँबाट क्रिस्टियन पुलिसिकले उपलब्ध गराएको क्रसलाई जिराउडले हेडमार्फत पोस्टको दिशा दिए ।

चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।

लण्डन क्लबको ३६ खेलबाट ६३ अंक छ । अर्को सिजन रेलिगेशनमा परेको नर्विचको २१ अंक छ ।

सम्बन्धित खबर

सिफारिस