काठमाडौँ, साउन १२ । इटालियन फुटबल क्लव युभेन्टसले लगातार नवौँ पटक सिरि ए फुटबलको उपाधि जितेको छ । गएराति साम्पोडियालाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधी पक्का गरेको हो ।
युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र फेडेरिक बर्नार्डेस्कीले एक–एक गोल गरे । खेलको पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गरेका थिए ।
दोस्रो हाफको ६७ औँ मिनेट बर्नार्डेस्कीले गोल गर्दै टिमलाई दोब्बर अग्रताको अवस्थामा पुर्र्याएका थिए । खेलको इन्ज्युरी समयमा युभेन्ट्सले पेनाल्टीको अवसर पाएको भएतापनी रोनाल्डोले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
युभेन्ट्सलाई लिग उपाधि जित्न तीन अंक आवश्यक थियो । तर पछिल्ला ५ खेलमा युभेन्ट्सले मात्र एक खेलमा जित निकाल्न सफल रह्यो । युभेन्ट्सले दुई खेल अगावै लिग उपाधि आफ्नो पक्षमा पारेको हो । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ७ अंकको अग्रता समेत बनाएको छ ।
च्याम्पियन युभेन्ट्सको ८३ अंक छ । दोस्रो स्थानको ईन्टरको ७६ अंक छ । साम्पोडिया ४१ अंक सहित १५ औं स्थानमा छ ।