‘इनफ इज इनफ’ को सत्याग्रहमा काँग्रेसको ऐक्यवद्दता

दियो पोस्ट  

काठमाडौँ, साउन १२ । नेपालमा कोभिड–१९ को ब्यवस्थापकिय पक्षको सुधार र पारदर्शीताको माग राख्दै आन्दोलनरत समुह ‘इनफ इज इनफ’ मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ऐक्यवद्दता जनाएको छ ।

सोमबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौँको बसन्तपुरमा सत्याग्रह बसेका इनफ इज इनफ समुहका युवाहरुलाई भेट गरि काँग्रेसको पनि यस अभियानमा ऐक्यवद्धता रहेको बताएका हुन् । उनले सो समुहको जायज मागप्रति काँग्रेसको पुर्ण समर्थन रहेको बताएका हुन् ।

प्रवक्ता शर्माले कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडिटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिइएको तर सरकारले बेवास्ता गरेको बताए । युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए ।

इनफ इज इनफ समूहका युवाहरु १० दिन देखि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाई सत्याग्रह बसेका छन् ।