फाइल फोटो
दार्चुला, साउन १३ । सोमबार राति गएको पहिरोले घर पुरिएपछि वेपत्ता भएका दार्चुलाका एक दम्पत्तीको शव फेला परेको छ ।
जिल्लाको दुहू गाउँपालिका–३ सलेखेतीका ५० बर्षीय रामदत्त जोशी र उनकी ४५ बर्षीया श्रीमती इन्द्र जोशीको शव भेटिएको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जानकारी दिएको छ ।
गएराति पहिरो खसेलगत्तै छोरा सुनिल जोशी भने भागेर बाँच्न सफल भएका थिए । उनका बुबाआमा पनि भाग्न खोज्दा खोज्दै पहिरोमा पुरिएको सुनिलले बताए ।
बिहान ५ बजे घटनास्थल पुगेको प्रहरी र गाउँलेहरुले वेपत्ता दम्पत्तीको खोजी शुरु गरेको थियो । उनिहरुको शव माटोमा गाडिएको अवस्थामा मंगलबार दिउँसो फेला पारिएको प्रहरीले जनाएको छ ।