
काठमाडौँ, साउन १३ । जाजरकोटमा विषालु च्याउको तरकारी खाएर एकै परिवारका ४ जनाले ज्यान गुमाएका छन् ।
जिल्लाको कुशे गाउँपालिका–१ स्याँक्रीमा विषालु च्याउ खाएर सोमबार तीन बर्षीया बालिकाको मृत्यु भएको थियो । च्याउ खाएर गम्भिर बिरामी भएका सोही परिवारका थप तीन जनाको मंगलबार मृत्यु भएको हो ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।
बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमबार गाउँमै मृत्यु भएको थियो ।
विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्याएको थियो ।
बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको छ ।