
काठमाडौँ, साउन १४ । सुनको मुल्यले नयाँ कीर्तिमान राखेको छ । नेपाल सुनचाँदी राष्ट्रिय महासंघका अनुसार बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय पुगेको हो ।
कोरोना संक्रमणपश्चात लगातार उकालो लागेको सुनको मुल्य मंगलबार ९८ हजार २ सय पुगेको थियो । त्यस्तै सोमबार ९७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ६५ रुपैयाँ रहेको छ भने चाँदी १२ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
कोरोना महामारीपश्चात अन्य क्षेत्रमा लगानी सुरक्षित नहुँदा लगानीकर्ताहरुले सुनमा लगानी गर्न थालेपछि अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेपछि नेपालमा पनि त्यसको असर परेको हो ।
अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको महासंघले जनाएको छ ।