गृहसचिव न्यौपानेका भाञ्जाको ‘खेलोमेलो’ रोकेपछि एआइजी हरि पालको सरुवा !

दियो पोस्ट  

काठमाडौँ, २७ असार । नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआइजी) सरुवामा गृहसचिव महेश्वर न्यौपानेले मनोमानी गरेको खुलाशा भएको छ । गृहसचिव महेश्वर न्यौपानेले महानगरिय प्रहरी आयुक्तका कार्यालयका प्रमुख एआइजी हरि पाललाई व्यक्तिगत प्रतिशोधका आधारमा समय अगावै सरुवा गरेको खुलेको हो ।


सरकारले शुक्रबार गरेको नेपाल प्रहरीका चार एआइजीको सरुवा र एकको पदस्थापना गरेको थियो । पाललाई रानीपोखरीमा हाजिर भएको ७ महिनामै अन्यायपूर्ण ढंगले प्रधान कार्यालयको कार्या विभागमा सरुवा गरिएको छ ।

गृहसचिव न्यौपानेका भाञ्जा पर्ने सुजन पौडेलले ‘मामाको पावर’ देखाउँदै प्रहरी सरुवा बढुवामा अनावश्यक चलखेल गर्दै आएका थिए । उनै भाञ्जाको सिफारिसलाई एआइजी हरि पालले काट्ने गरेका थिए । आर्थिक प्रभावमा मामाको नाममा सरुवा बढुवामा आतंक मच्चाउँदै आएका भाञ्जा पौडेलको धन्दामा ब्रेक लागेपछि एआइजी पाल विरुद्ध गृहसचिव न्यौपाने हात धोएर लागि परेको गृहमन्त्रालय स्रोतले बतायो ।


त्यस्तै गरि अपराध महासाखामा हुँदा अनुसन्धानमा रहेको विषय मिडियामा लिक गरेपछि विवादमा आएका एसएसपी दिपक थापाले समेत गृहसचिव न्यौपानेलाई प्रभाव पारेको स्रोतको दाबी छ ।

सुचना लिक गरेको अभियोगमा एआइजी पालले थापालाई स्पष्टिकरण सोधेका थिए ।
शालीन स्वभावका पाल विरोधी शक्तिले उनी एमाले विरोधी रहेको भन्ने आरोप समेत लगाएर प्रधानमन्त्रीलाई कुरा लगाएको स्रोतले बतायो ।
हाल महानगरिय प्रहरी कार्यालय प्रमुख बनेर आएका एआइजी प्रध्युम्न कार्की निकट डिएसपी अपिल बोहोरा पनि कारबाहीबाट जोगिएका थिए ।

भ्रष्ट छवि रहेका बोहोराले कालिमाटीमा असुली धन्दा नै चलाएका छन् । उनले मिटर ब्याजीहरुबाट पैसा उठाएको विषयमा रानी पोखरीमा रिपोर्ट पुगेको थियो । उनलाई बृत्तबाट रानीपोखरी तान्ने पालको तयारी थियो । तर, एआइजी कार्कीको दबावमा उनलाई उन्मुक्ति दिइएको थियो ।
बोहोरामाथि कारबाही रोक्न गृहसचिव न्यौपानेको दबाव रहेको थियो । बोहोरालाई जोगाउन गृहसचिव न्यौपानेका भाञ्जा पौड्याल लागि परेका थिए ।

सरकारले उनकै ब्याची शैलेश थापालाई प्रहरी महानिरिक्षक एआइजीमा नियुक्त गरेपछि पालले हार्दिकता पूर्वक सहयोग गर्दै आएका थिए । उनका कारण प्रहरी संगठन भित्र देखिएको चरम गुटबन्दी अन्त्य भएको आभास तल्लो तहका प्रहरी अधिकारीमा परेको थियो ।

तर, गृह प्रशासनको नेतृत्व र सरकारले संगठनमाथि चरम राजनीतिक हस्तक्षेप गर्दा संगठनको नेतृत्व तहमा रहेका पालमाथि चरम अन्याय भएको छ । शुक्रबार सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्कीलाई सरुवा गरेको छ ।

त्यस्तै एआइजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ । बिहीबार एआइजी बढुवा भएका सहकुल थापालाई मानवस्रोत तथा प्रशासन विभागको पदस्थापन गरिएको छ ।