काठमाडौं, ३० असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुन नसकेको हो ।
स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे पनि कोभिड सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौँ गाउँसभा अनिश्चितकालका लागि स्थगन गरेको गाउँपालिकाले जनाएको छ ।
कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुँदै गएको भन्दै आजका लागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताए ।
एकपछि अर्को स्थानमा कोरोना सङ्क्रमित थपिँदै गएकाले आज बोलाइएको गाउँसभा रोक्नुपरेको गाउँपालिकाले जनाएको छ । अनुकूल समय भएपछि गाउँसभाको अर्को मिति तय गरिने लिङ्देनले बताए ।
मङ्गलबार मात्रै गाउँपालिकाको केन्द्र वडा नं ४ साब्लाखुमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार वडा नं ६ मेहेलेमा १६ जनामा सङ्क्रमण देखिएको गाउँपालिकाले जनाएको छ । रासस