काठमाडौं । विश्वकै धनीहरुको सुचीमा रहेका नेपालबाट एकमात्रै डलर अर्बपति हुन्–चौधरी समुहका अध्यक्ष विनोद चौधरी । चौधरीका दुई भाई छन्–बसन्त र अरुण । बसन्त चौधरी नर्भिक अस्पतालका मालिक हुन् ।
अरुण चौधरी गाडी लगायतको व्यापार गर्छन् । एकै बाबुका तीन छोरा मध्ये विनोद डलर अर्बपति छन् तर अरु भाई भने डलर अर्बपति छैनन् । चौधरी परिवारमा सम्पत्ति वितरणमा असमानता छ भन्ने स्पष्ट देखिन्छ ।
सम्पत्ति वितरण असमान भएपनि चौधरी परिवार नेपालको सम्पन्न परिवार हो । सम्पन्न परिवार भएपनि चौधरी परिवार विवाद र चर्चामा आइरहन्छ ।
तर, चौधरीका कान्छा भाई अरुण चौधरी ठगीमा समेत मुछिएको खुलाशा भएको छ ।
उनले सञ्चालन गर्दै आएको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले नेपालमा विक्री गर्ने गाडीहरुमा उपभोक्तामाथि चरम ठगी गरेको पाइएको छ ।
भारतबाट मारुती सुजुकी गाडीको नेपालमा आधिकारिक विक्री गर्दै आएको अरुण कन्टिनेन्टल ट्रेडर्स अर्थात सिजि मोटोकर्पले गाडी विक्रीमा सर्वसाधरण उपभोक्तालाई चरम ठगी गरेको पाइएको हो ।
चौधरीका भाई अरुणले सञ्चालन गरेको कम्पनिलाई कारबाही गर्न महानगरिय प्रहरी परिसर ललितपुरलाई पत्राचार समेत गरेको पाइएको छ । तर, शक्तिको आडमा उक्त पत्र चार वर्षदेखि रद्दिको टोकरीमा हालेर राखिएको भेटिएको हो ।
विभागले अनुगमनको क्रममा मारुती अल्टो ८०० एसटिडी गाडीमा अरुण इन्टरकन्टिनन्टलले चरम ठगी गरेको फेला पारेको थियो । जसमा ग्राहकलाई विज्ञापन खर्च भनेर ९६ हजार रुपैयाँ अशुली गरेको फेला परेको थियो ।
त्यस्तै प्रशासनीक खर्च र तलब खर्च गरेर उपभोक्ताबाटै ३६ हजार रुपैयाँ अशुल गरिएको पाइएको थियो । उपभोक्ताबाटै कम्पनिले पेट्रोल, मोबिल, हिटर, फिटिङ र डेलिभिरी जस्ता शिर्षकमा मनोमानी गरेको फेला परेको थियो ।
‘ग्राहकहरु ठगीमा परेको देखिँदा प्रचलित कानुन अनुसार ठगीको मुद्दा दर्ताको लागि पँजिकासहितको सक्कल फाइल यसै पत्र साथ समलग्न राखी पठाइएको व्यहोरा निर्णय अनुसार अनुरोध गरिन्छ,’ विभागले महानगरीय प्रहरी परिसर ललितपुरलाई पठाएको पत्रमा भनिएको थियो ।
विभाग स्रोतका अनुसार पत्र पठाएको चार वर्षसम्म पनि ललितपुर प्रहरीले चौधरी वा उनको कम्पनिलाई छुन समेत सकेन ।
प्रहरीका हाकिमहरु नै परिवर्तन गर्ने हैसियत भएका चौधरी समुहलाई प्रहरीले पत्र मात्रै दर्ता गरेर कुनै कारबाही नचलाएको विभाग स्रोत बताउँछ ।