काठमाडौं, ८ साउन । कोरोना भाइरस विरुद्ध अमेरिकन खोप जोनसन एण्ड जोनसन लागाउन हिँडेरै खोप केन्द्र पुगेका एक बृद्धको निधन भएपछि धादिङमा खोप लगाउन बसेकाहरु भागाभाग भएको छ ।
उनीहरु धादिङका विभिन्न स्थानमा लाइनमा बसेका थिए । ‘बृद्धको निधन भएको खबर आएपछि लाइनमा बसेकाहरु लाइन छोडेर भागे,’ जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकारीले भने,‘अमेरिकन खोपले ज्यानै लिएको हल्ला चलेको छ ।’
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ घर भएका नर बहादुर श्रेष्ठको खोप लगाएर घर पुगेको १० मिनेटमै निधन भएको थियो ।
उनको शव पोस्ट मार्टमका लागि धादिङ अस्पतालमा पुर्याइएको छ । निलकण्ठ नगरपालिकाले सुनौलाबजारमा सञ्चालन गरेको खोप केन्द्रमा उनी हिँडेरै पुगेका थिए । खोप लगाएर उनी आधा घण्टासम्म खोप केन्द्रमै बसेको र घर पुगेपछि १० मिनेटमा उनलाई चक्कर लागेको निलकण्ठ नगरपालिकाका स्वास्थ्य प्रमुख विष्णु प्रसाद रिजालले दियोपोस्टलाई बताए ।
निलकण्ठ नगरपालिकाले वडा नम्बर ६ स्थित सुनौला बजार स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरेको थियो । स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा आएपछि उनको मृत्यु भएको डाक्टरहरुले बताएका थिए ।