यदुवंशी र एमाले !

diyopost.com
दीपेन्द्र पाण्डे
  बिहिबार, साउन १४, २०७८ | १६:४३:०१

द्वापर युगमा १८ दिनसम्म चलेको महाभारत युद्धले अकल्पनीय आर्थिक र भौतिक क्षति सिवाय केही दिएन । कौरवहरूको सम्पूर्ण कुलको नास भएको उक्त युद्धमा पाण्डवतर्फ सीमित मानिस मात्र बाँचेका थिए । महाभारत युद्धमा हतियार नचलाएका तर आफूले चाहेकै ढङ्गले युद्धको सकारात्मक नतिजा आफ्नो पोल्टामा पार्न सफल भगवान् कृष्णले युद्धकै कारण आफ्नो वंश गुमाउन विवश भए ।

महाभारत युद्धको समाप्तिपश्चात् युधिष्ठिरको राजतिलक भइरहेको समयमा कौरवहरूको माता गान्धारीले भगवान् श्रीकृष्णलाई युद्धको दोषी मान्दै भनिन्- ‘जसरी मेरो वंशको नास भयो त्यसरी नै यदुवंशको पनि नास होस् !’ गान्धारीबाट प्राप्त श्रापलाई शिरोधार्य गर्दै विनाशकालको पर्खाइमा भगवान् श्रीकृष्ण द्वारिका फर्किए । भगवान् कृष्णले ब्राह्मणहरूलाई अन्नदान दिएर यदुवंशीहरूलाई मृत्युको पर्खाइमा बस्न आदेश दिए । केही दिनपश्चात् महाभारत युद्धको बारेमा सात्यकी र कृतवर्माबीच वादविवाद हुन पुग्यो । सात्यकीले आफ्नो रिसलाई नियन्त्रण गर्न असफल हुँदै कृतवर्माको टाउको काटिदिए ।

कृतवर्माको हत्यालाई हेर्ने दृष्टिकोणले यदुवंशीहरू दुई समूहमा विभाजित भए । हत्याको समर्थन र विरोधमा भएको वादविवादले उग्र रूप लियो । ततपश्चात् सुरु भएको भीषण युद्धमा असङ्ख्य यदुवंशीलगायत श्रीकृष्णको पुत्र प्रद्युम्न र मित्र सात्यकी समेत मारिए । यदुवंशीहरूमा केवल बब्रु र श्रीकृष्णको सारथी दारूक मात्र बचेको देखेर श्रीकृष्णको दाजु बलराम समुद्र तटमा एकाग्र चित्त भएर परमात्मामा लीन भए । पिपलको रुखमुनी बसेका कृष्णले यदुवंशीको कहालीलाग्दो विनाश हेर्दै थिए । त्यसै, समयमा जरा नामको सिकारीबाट उनी घाइते हुन पुगे । यदुवंशी समाप्तिको दुःखद खबर सुनाउन आएका सारथी दारूकलाई द्वारिका फर्किन र सबै द्वारिकावासीलाई अप्रिय घटनाको बारेमा जानकारी गराउनु भन्दै स्वर्गलोक प्रस्थान गरे ।

गत साल पुस ५ को संसद् विघटनपछि सुरु भएको तात्कालिक नेकपा र फागुन २३ पछिको एमालेको घर झगडा यदुवंशीयुद्धतर्फ लम्किएको बुझ्न नेता घनश्याम भुसालको निचोड काफी छ– ‘मैले सधैँभरि ओली र नेकपा एमाले फरक हो भन्ने गरेको छु । यो पार्टी हो, योसँग एउटा विचार, सिद्धान्त, परम्परा, विधान, पद्धति र कार्यकर्ताको ठुलो पङ्क्ति छ । ओलीजी व्यक्ति हो र उहाँको आफ्नै व्यवस्था छ । म, मेरो, मेरा र मलाई भन्ने उहाँको दर्शन हो, यो दर्शन र कुनै पनि सङ्गठनको दर्शन मिल्दैन । ओलीजीले अनधिकृत रूपमा पार्टी कब्जा गरेका छन् ।’

नेता भुसाल बेजोडको तर्क गर्न सक्छन् । गरिरहेका छन् । गरिरहने छन् । ओली र एमाले एकै होइन । उनी मार्क्सवादी दर्शनका राम्रो विद्यार्थी पनि हुन् । उनी लोकतन्त्रमा विश्वास गर्ने वामपन्थी नेता पनि हुन् । साथै संसदीय राजनीतिमा पार्टी, नेतृत्व, संसदीय दल र सांसदहरूको अधिकार र महत्व राम्रोसँग बुझेका नेता हुन् । अध्यक्ष ओलीको शैली र क्रियाकलाप शत प्रतिशत गलत रहेको ठम्याई रहे पनि एमालेको यदुवंशी युद्धलाई रोक्न म, मेरो, मेरा र मलाई भन्ने ओली-सिद्धान्तलाई नेता भुसालले स्वीकार गरेका छन् ।

एमालेले ओलीलाई अध्यक्षमा बोकिराख्ने, नेतृत्वको हैसियतमा उनले मनलाग्दी गरिराख्ने, ओली बिटुलो हुने तर एमाले नेता र पार्टीचाहिँ चोखो भइराख्ने भुसालको (कु)तर्क बुझ्न एमाले इतिहासतर्फ फर्कनु अनिवार्य हुन जान्छ । एक समय थियो, सोभियत रुसमा घाम लाग्दा या चीनमा पानी पर्दा नेपालका कम्युनिस्ट युवा वादविवादमा उत्रिन्थे । कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ ? कसरी कम्युनिस्ट क्रान्ति सम्पन्न गर्नुपर्छ ? भन्ने सवालमा उनीहरू जमेर अध्ययन गर्थे । विचार र सिद्धान्तअनुरूप सङ्गठन निर्माण गर्न मरिहत्ते गर्थे । पार्टी सङ्गठन चुस्त, कमिटी पद्धतिमा अटुट विश्वास, सादगी, मितव्ययी, नम्र, शिष्ट, भद्र, जनप्रिय, अनुशासित, पार्टी र सिद्धान्तप्रति प्रतिबद्ध रहन प्रतिस्पर्धा चल्दथ्यो । क्रान्तिकारी बन्ने जोसमा छलफल र अन्तरक्रियामार्फत जीवन्त पार्टी निर्माण गर्नुभन्दा पार्टी फुटाउनु सामान्य मानिन्थ्यो ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले शासन सत्ता हातमा लिए । निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हाल्दै प्रजातन्त्र अपहरण गरेको घटनालाई रायमाझीले स्वागत गरेपश्चात् नेपाली कम्युनिस्ट आन्दोलन निरन्तर फुटतर्फ लम्कियो । २०२८ सालमा घटेको झापा आन्दोलनको जगमा २०३५ साल पुस ११ गरे प्रतिबन्धित नेकपा माले जन्मियो । अनेकौँ समूह र गुटलाई वैचारिक रूपमा गोलबन्द गर्दै नेकपा माले पार्टीले आफूलाई जनताको पक्षमा एकाकार गर्दै अघि बढ्दै गयो ।

दिवंगत नेता मदन भण्डारीले क्रान्तिकारी पार्टी मालेलाई मनमोहन नेतृत्वको मार्क्सवादी पार्टीसँग मिलाउँदै नेपाली माटोमा जन्माइएको एमाले पार्टी सत्ताको स्वाद नचाख्दासम्म न्यायपूर्ण आन्दोलनमा सरिक हुन रमाउँथ्यो । कम्युनिस्टदेखि वामपन्थी हुँदासम्म अर्थात् मालेदेखि एमाले हुँदासम्म विद्यार्थी, किसान, मजदुर, महिला, गरिब, असहाय, सुकुम्बासीको पक्षमा संसद्देखि सडकसम्म आवाज बुलन्द गर्थ्यो । संसदीय राजनीतिको चक्रब्युहमा नफस्दासम्म एमाले जताततै देखिन्थ्यो । भेटिन्थ्यो । सुनिन्थ्यो । अझ भनौँ, पञ्चायत विरुद्धको सङ्घर्षमा, प्रजातन्त्र, मानवअधिकार, राजनीतिक स्वतन्त्रता, न्याय, समानता, सबैखाले विभेदबाट मुक्ति प्राप्त गर्दै समुन्नत समाज निर्माण गर्ने अभियानसहित जनताको झुपडीदेखि सङ्घर्षको हरेक मोर्चामा उनीहरू भेटिन्थे । देखिन्थे ।

मूल सिद्धान्त एकै भए पनि कार्यनीतिको सवालमा टुक्रिएका थुप्रै कम्युनिस्ट पार्टीहरू अनेक समस्याको बाबजुद नेपाली माटोमा मौलाइरह्यो । मतपत्रबाटै सत्तामा पुगेर जनताको सेवा गर्ने लक्ष्य राख्दा संविधान निर्माणमा कम्युनिस्टहरूले महत्त्वपूर्ण भूमिका निभाए । संविधानसभाद्वारा निर्मित संविधानको कार्यान्वयन गर्ने समयमा सम्पन्न हुँदै गरेको स्थानीय निर्वाचनमा ठुला दुई कम्युनिस्ट पार्टीको मन मिल्न सकेन । प्रचण्ड-देउवा गठबन्धनको बाबजुद पूर्वएमालेले प्राप्त गरेको नतिजालाई ओली-प्रचण्डले सूक्ष्म विश्लेषण गर्दा ६०/४० को वाम गठबन्धनले जन्म लियो । आम निर्वाचनको नतिजापश्चात् सैद्धान्तिक एकता गर्नुको सट्टा दुई कम्युनिस्ट पार्टीहरू ‘कानेखुसी’ सिद्धान्तमा एक भएको सजाय ओली-प्रचण्डदेखि नेपाली वाम आन्दोलनसम्मले ब्यहोर्न बाध्य भयो ।

जसरी भए पनि पार्टी कब्जा गर्ने, नेतृत्वमा पुग्न र टिक्न तमाम विधि, विधान र आदर्शलाई तिलाञ्जली दिनु सामान्य हुन पुग्यो । पार्टी प्रणालीलाई स्वार्थको डोरीले बाँध्ने, शरीर ठुलो बनाउने नाममा ट्यापे, मुन्द्रे, हप्ताखोर, प्राकृतिक स्रोत र साधनको दुरुपयोग गर्ने मानिसहरू नेतृत्वको प्रियपात्र हुन पुगे । भौतिकवादको दलदलमा फस्दै जानु, संसदीय राजनीतिमा जम्न बिचौलिया, दलाल र स्वार्थ समूहसँग अनुपयुक्त सम्बन्ध बढाउने, महँगो संसदीय राजनीतिमा सफल हुन ‘यतिदेखि ओम्नी’सम्मको दोस्तीलाई कम्युनिस्ट गुण र आदर्श बनाइयो/मानियो । सुशासनको नाममा बेरुजुको पहाड निर्माण गर्नुलाई समृद्धि ठानियो । सत्ता र कुर्सी नै सबै समस्याको समाधान ठान्ने नेतृत्वले अन्तरपार्टी द्वन्द्व व्यवस्थापन गर्न रुचिसमेत देखाएन । जसले गर्दा ओली दम्भ र सरकार सडकमा पछारियो । ठुलो तयारीसहितको रणनीति असफल हुँदा आवश्यक धैर्यता र संयम गुमाएको ओली-राजनीतिले पार्टीभित्र यदुवंशी युद्धलाई खुला निमन्त्रणा दिएरै छोड्यो ।

राजनीति भनेको समाज परिवर्तनको या समाजको सकारात्मक रूपान्तरणको प्रमुख माध्यम हो । उल्लेखित भनाइ व्यवहारमा उतार्दै पञ्चायतविरुद्ध सङ्घर्ष गर्दा निर्माण गरेको राजनीतिक छवि, विगतमा जनताको घर-आँगनमा पुग्दै न्याय र समानताको पक्षमा आवाज उठाउने कार्य, प्रजातन्त्रप्रतिको प्रतिवद्धता, विकास र समृद्धिको वकालत, राष्ट्रियता र जनजीविकाको सफल मार्केटिङ गर्दै, चुस्त, दुरुस्त सङ्गठनको बलमा नेपाली जनताको मन-मन्दिरमा बस्न सफल नेताहरू पछिल्लो कालखण्डमा आफ्नो आदर्शबाट चिप्लिए । ‘मनमोहनदेखि झलनाथ’सम्म वामपन्थी बन्न ठुलो मेहनत गरेको एमाले पार्टीको नेतृत्वमा ओली आगमनपश्चात् विचार, सिद्धान्त, अनुशासन र सङ्गठनको पेच किला खुस्काउँदै अवसरवाद, कपट, षडयन्त्र र गुटलाई नवीन सिद्धान्त बनाइयो । पार्टीको नाम कम्युनिस्ट राखिएको, मार्क्सवाद, लेनिनवाद, समाजवाद, ‘जबज’, सङ्गठन र सिद्धान्तको काम सूर्य चिन्हले गर्ने अवस्थालाई स्वीकार गरिएको ‘एमाले’को फुटले ‘एमाले’को नाममा लुटको राजनीति चलाइरहेको ‘गुट’भित्र ९ रेक्टर स्केलको कम्पन आउनु स्वाभाविक देखिन्छ ।

अदालतको फैसलामार्फत पुनर्जीवन पाएको एमाले जताततै भेटियो तर यदुवंशीको रूपमा ! जबजलाई देखिने, बुझिने बनाउन मरिहत्ते गर्नेहरू आफै नदेखिने, नबुझिने अवस्थामा पुगेको एमालेको यदुवंशी युद्धमा भगवान् कृष्ण कतै देखिँदैनन् । राजनीतिक मैदानमा केवल दुर्योधन, दुशासनहरूको बिगबिगी छ । कर्णहरू चुपचाप देखिन्छन् । अवसरवाद, झुट, धोका, षडयन्त्र, कपटसहितको मुर्छित सपना अभिभावकको खोजीमा छ । सूर्य चिन्हलाई सत्ताको भऱ्याङ मानेको, नैतिकता सकिएको, सपना भत्किएको, राजनीतिक जमिन भासिएको, वर्गीय चिन्तनबाट च्युत भएको, सत्ता र कुर्सीबाहेक केही नदेख्ने अवस्थामा पुगेको यदुवंशी एमालेले ‘गान्धारीरुपी जनता’को श्रापबाट बच्न सानोतिनो कर्मले सम्भव हुने छैन ।

सम्बन्धित खबर