लेखकः साजिद इकबाल
अनुः खुमा ओली
केही व्यक्तित्वहरु मात्र भारत र पाकिस्तान दुवै देशमा छन् जसको विरासत अझै पनि छ । ती मध्ये एक हुन् प्रसिद्ध इन्जिनियर तथा समाजसेवी सर गंगाराम । दिल्ली र लाहोरमा सर गंगाराम ट्रस्ट र उनका परिवारका सदस्यहरुले उनको नाममा बनाएको अस्पताल अझैै पनि साझा सम्पदाको प्रतीक हो ।
सर गंगारामको घर भारत पाकिस्तान विभाजनअघि पाकिस्तानको लाहोर सहरमा थियो । तर विभाजनपछि उनको परिवार दिल्ली सरेको थियो । भारत सन् १९४७ अगस्टमा ब्रिटिश शासनबाट स्वतन्त्र त भयो । तर दुई भागमा बाडियोे भारत र पाकिस्तान ।
विभाजनको यो त्रासदीमा करिब १५ लाख मानिस हिंसाको सिकार भए भने १२ करोड मानिस शरणर्थी बन्न पुगे । सन् १९२७ मा सर गंगारामको निधन भयो, तर उनको विरासत सआदत हस मन्टोको कथामा झल्किन्छ ।
यो कथा विभाजनको एक सत्य घटनामा आधारित छ । जसमा लाहोरको सर गंगाराम अस्पताल बाहिर उनको हिन्दु नामका कारण उनको मूर्ति भत्काउन भीड जम्मा भएको थियो । त्यसमा एकजना घाइते भएपछि भीडले कराउदै भनेको थियो, “यसलाई चाँडो सर गंगाराम अस्पताल लैजानुहोस” ।
बाबा प्यारे लाल बेदीको पुस्तक
गंगा राम अनुशासन प्रेमी हुनुका साथै धेरै दयालु व्यक्ति थिए । उनले आर्किटेक्चर इिन्जिनियरिङ, खेती किसानी र महिला अधिकारका लागि धेरै काम गरे । उनले विशेष गरी विधवाहरुको अवस्था सुधार गर्न काग गरेका छन् ।
उनको बारेमा आज जुनसुकै जानकारी उपलब्ध छ, उनको बारेमा धेरै त बाबा प्यारे लाल बेदीको सन् १९४० मा उनको जीवन र कार्यमा आधारित पुस्तक “हार्वेस्ट फ्रम द डेजर्टः द लाइफ एन्ड वर्क अफ सर गंगा राम”बाट थाहा हुन्छ ।
उनको जन्म १३ अप्रिल १८५१ मा लाहोरदेखि करिब ६४ किलोमिटर टाढा रहेको मङटावाला गाउँमा भएको थियो । उनका बुवा दौलत राम भारतको उत्तर प्रदेशबाट आएर प्रहरी विभागमा प्रहरी निरीक्षक (इन्सपेक्टर)का रुपमा कार्यरत थिए ।
पछि परिवार पन्जाब प्रान्तको अमृतसर सहरमा सरे र गंगाराम यहाँको सरकारी हाईस्कुलमा पढे । विद्यालयको पढाईपछि गंगाराम उच्च शिक्षाका लागि लाहोरको सरकारी कलेज गए । त्यसपछि उनले थमुन इन्जिनियरिङ कलेज, रुर्की उत्तराखण्डमा पढ्न छात्रवृति पाए । उनलाई त्यो जमानामा ५० रुपैयाँको छात्रवृत्ति दिइएको थियो । जसको आधा पैसा उनले आमाबुवालाई अमृतसरमा पठाउँथे ।
आधुनिक लाहोरका पिता
उनले धेरै राम्रो अंक ल्याएर इन्जिनियरिङको डिग्री हासिल गरेपछि लाहोरका मुख्य इन्जिजियर राई बहादुर कन्हैया लालको कार्यालयमा प्रशिक्षुको रुपमा काम गर्न थाले ।
त्यस बेलादेखि लाहोर सहरको निर्माणमा गंगारामको योगदानको समय शुरु भयो । उनी चाँडै सहरको शीर्ष सिभिल इन्जिनियर बने र आफ्नो कामले सहरलाई आकार दिए ।
उनले लाहोर संग्रहालय, द एचिसन कलेज, द मेयो स्कुल अफ अर्ट्स (अहिले नेशनल कलेज अफ आर्ट्स) हेड हुलाक कार्यालय, मेयो अस्पतालको अबर्ट भिक्टर विङ र सरकारी कलेजको केमिकल ल्याबोरेटरीजस्ता भवनहरु डिजाइन मात्र गरेनन्, बल्कि निर्माण पनि गरे ।
बेदीले लेखेकी छन्, गंगारामले पश्चिमी प्रविधि र उपकरणको सहयोगमा र भारतीय वास्तुकलाको शैलीलाई संयोजन गरेर पन्जाबको मौसम अनुकूल भवनहरु निर्माण गरेका थिए । जहाँ गर्मी र चिसो दुवैबाट सुरक्षा थियो र स्वाच्छ हावा उपलब्ध थियो । लाहोर सहरमा आज पनि उनको अवशेष रहेको देखेर वरिष्ठ पाकिस्तानी पत्रकार खालिद अहमदले उनलाई आधुनिक लाहोरका पिता भनेका छन् ।
गंगापुरको सपना
जब सरकारी कर्मचारीको हैसियतमा लाहोर सहरको निर्माणमा लागेका थिए , उनको मुटु ग्रामीण पन्जाबको लागि धड्किरहेको थियो । जहाँ उनको बाल्याकाल बितेको थियो ।
सरकारी सेवाबाट अवकाश लिएर सन् १९०३ मा उनी गाउँ फर्किए । उनले सेवालाई ध्यानमा राख्दै सरकारले चेनाब कोलोनीमा इनामको रुपमा जग्गा दियो । यो क्षेत्रपछि ल्यालपुर र फैसलाबाद भनेर चिनिन थाल्यो । यहाँ उनले आधुनिक सिँचाइ र खेती प्रणाली भएको आदर्श गाउँ गंगापुर स्थापना गरे ।
उनले गंगापुरबाट दुई माईल टाढा रहेको बुकियाना रेलवे स्टेसनलाई जोड्नको लागि एक अद्धितीय यातायात प्रणाली बनाए । उनले एउटा पातलो रेलवे ट्रयाक बिछ्याए । जसमा दुईवटा ट्रली घोडाहरुले तान्थे । गंगापुरमा उनले जस्तो सिँचाई व्यवस्था बनाएका थिए । अन्य ठाउँमा पनि त्यसै गरी स्थापना गर्न चाहन्थे ।
उनले पन्जाबको रेनाला खुर्द क्षेत्रमा महत्वाकांक्षी जलविद्युत परियोजना स्थापना गरेका थिए । आधिकारीक रुपमा सन् १९२५ मा यस परियोजनाले काम सुरु गर्याे । त्यसपछि यस प्लान्टका पाँचवटा टर्बाइन इन्जिनले ३६० किलोमिटर जमिनमा सिँचाइ गर्थे । जसले जमिनको उत्पादन बढाएको थियो ।
विधवाहरुको अधिकारका लागि संघर्ष
गंगा राम बिहान सबेरै उठेर आफ्नो फाइल हेरेर दिनको तयारी गर्थे । बेदी लेख्छिन्, उनी कहिलेकाहीँ उर्दू कवि मौलाना अल्ताफ हुसैन हालीको कविता “मुनाजात ए बैवगन” (विधवाको प्रार्थना)का छन्दहरु सुनाउँथे ।
यी छन्दहरु पढ्दा प्रायः उनले आफ्नो आँसु थाम्न सक्दैनथे । सायद रुढिवादी हिन्दु समाजमा विधवाहरुका लागि उनले गरेको कामको प्रेरणा यही कविताबाट थियो ।
सन् १९१७ मा पन्जाब प्रान्तको अम्बाला सहरमा उनले हिन्दुहरुको धार्मिक सभामा विधवाहरुको पुर्निववाहसम्बन्धी प्रस्ताव पारित गर्ने प्रयास गरे । यद्यपी उनी यसमा असफल भए । तर उनले आफ्नो दुई हजार रुपैयाँ (त्यस समयमा यो ठुलो रकमा थियो)बाट विधवा विवाह संघ स्थापना गरे ।
यो संस्थाले विधवाहरुको कठिनाइको बारेमा सामाजिक चेतनाका लागि काम गर्न थाल्यो । केही दिनमै गंगारमाले महसुस गरे कि केही विधवाहरु धेरै उमेरका छन् र तिनीहरुमध्ये धेरैले आफ्नै इच्छाले पुनर्विवाह गर्न चाहँदैनन् ।
सरकारको अनुमतिमा गंगारामले हिन्दु विधवाहरुका लागि सन् १९२१ मा साढे दुई लाख रुपैयाँमा घर बनाएका थिए । जहाँ यी महिलाहरुलाई जीविका चलाउन तालिम दिने व्यवस्था थियो । यस आश्रयमा विधवाहरुका लागि दुई विद्यालय र एक छात्रावास स्थापना गरिएको छ ।
यहाँ महिलाहरुलाई हस्तकला तालिम दिइन्थ्यो । गंगारामले आर्थिक चुनौतिहरुको सामना गरिरहेको हिन्दु र सिख महिलाहरुको लागि “लेडी मेनार्ड इन्डस्ट्रियल स्कुल” स्थापना गर्न पनि मद्दत गरे ।
सर गंगाराम ट्रस्ट
सर गंगाराम ट्रस्ट सन १९२३ मा स्थापना भएको थियो । बेदीको पुस्तक अनुसार सर गंगाराम निःशुल्क अस्पताल र औषधालय यसै वर्ष लाहोरको मुटुमा स्थापना भएको थियो ।
जुन पछि अत्याधुनिक चिकित्सा सुविधा भएको अस्पतालको रुपमा विकसित भयो । पुस्तकका अनुसार यो मेयो अस्पतालपछि पन्जाब प्रान्तको सबैभन्दा पुरानो र ठुलो अस्पताल हो ।
हिन्दु विद्यार्थीहरुलाई मद्दत गर्न सर गंगाराम ट्रस्टको तर्फबाट सन् १९२४ मा हिन्दु विद्यार्थी करियर सोसाइटी स्थापना गरियो । यो बाहेक सर गंगाराम व्यापार ब्यूरो र पुस्ताकालय स्थापना गरियो ।
गंगारामले आफ्नो जीवनकालमा गरेको अन्तिम परोपकारी कार्य दुई बिघा जग्गामा हिन्दु अपाङग आश्रम स्थापना गरेका थिए । यो एक हिसाबले वृद्ध र अपाङग व्यक्तिहरुका लागि आश्रय थियो ।
सर गंगारामको निधन १० जुलाई १९२७ मा लण्डनस्थित आफ्नै घरमा भएको थियो । त्यसपछि उनको पार्थिव शरीर लाहोर ल्याइयो र उनको इच्छा अनुसार शैया आश्रमको छेउमा गाडियो । अहिले यो आश्रम छैन, तर गंगारामको समाधि अझै बाँकी छ । बेदीका अनुसार, प्रख्यात उर्दू लेखक ख्वाजा हसन निजामीले गंगारामको मृत्युमा लेखेका थिए, “यदि कसैले आफ्नो जीवन दान गर्न सक्छ भने, उसले आफ्नो जीवन निश्चित सर गंगारामलाई दान दिने थियो ताकि उहाँले अझै केही दिन जीवित रहन र भारतका उपेक्षित महिलाहरुको भलाइका लागि काम गर्न सकून् ।”
बीबीसी हिन्दीबाट