काठमाडौं । वैदेशिक व्यापारका क्षेत्रमा चालु आर्थिक वर्ष २०८०–८१ को सुरुवात उत्साहजनक रहन सकेन । आर्थिक वर्षको पहिलो महिन अर्थात् साउनमै वैदेशिक व्यापारमा गिरावट आएको छ ।
आयत तथा निर्यात दुवैमा गिरावत आउँदा कुल वैदेशिक व्यापारमै कमी आएको हो । भन्सार विभागका अनुसार अघिल्लो आवको साउनको तुलनामा कुल वैदेशिक व्यापारमा २.२८ प्रतिशत अर्थात् ३ अर्ब ३२ करोडले कमी आएको छ । साउनमा १ अर्ब ४२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.२८ प्रतिशत कम हो । अघिल्लो साउनमा १ खर्ब ४६ अर्बको वैदेशिक व्यापार भएको थियो । विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनका आयात १.५६ प्रतिशत र निर्यात ८.६५ प्रतिशत घटेको छ । यससँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४८ प्रतिशत र आयातको हिस्सा ९०.५२ प्रतिशत पुगेको छ । गत आवको तुलनामा निर्यातको हिस्सा खस्किएको हो ।
साउनमा व्यापार घाटामा पनि कमि आएको छ । यो महिना १ खर्ब १५ अर्ब रुपैयाँ व्यापारघाटा भए पनि अघिल्लो साउनको तुलनमा यो ०.६६ प्रतिशत कमी हो । अघिल्लो साउनमा व्यापारघाटा १ खर्ब १६ अर्ब थियो । यस्तै, साउनमा १ खर्ब २९ अर्बको वस्तु आयात भएको छ । यो गत साउनको तुलनामा १.५६ प्रतिशत कम हो । गत वर्ष साउनमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यो महिनामा निर्यातमा ८.६५ प्रतिशतको गिरावट आएर १३ अर्ब ५२ करोडका सीमित भएको छ । अघिल्लो साउनमा भने १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो ।
आयातमा सबैभन्दा ठुलो हिस्सा रहेको पेट्रोलियम पदार्थको व्यापार खस्किएको प्रभाव आयातमा देखिएको हो । साउनमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पर्दाथ आयात भएको छ । गत आवको साउनमा २५ अर्बको इन्धन आयात भएको थियो ।
आइरन र स्टीलको आयातमा सुधार भएको छ । यो वर्ष १२ अर्ब ९५ करोडको आइरन रस्टील आयात भएकोमा गत आवमा भने ११ अर्ब २३ करोडको आयात भएको तथ्यांक छ । साउनमा साढे २ अर्ब रुपैयाँको तरकारीजन्य वस्तु आयात भएको छ भने दुई अर्ब ८१ करोडको औषधि आयात भएको छ । यस्तै, सवारीसाधन र यसको पार्टपुर्जा शीर्षकमा ४ अर्ब २९ करोडको आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष यस्तो वस्तु आयात ४ अर्ब ६४ करोड रुपैयाँको भएको थियो ।
निर्याततर्फ ४३ करोड २० लाख रुपैयाँको पामा आयल, २९ करोड ३६ लाखको सिमेन्ट तथा क्लिंकर, १ अर्ब २७ करोडको धागो, ५७ करोड ९० लाखको ऊनी फेल्ट निर्यात भएको छ ।
आजको कारोबार पत्रिकामा खबर छ ।