हेटौँडा सिमेन्टको मूल्य घट्यो

दियो पोस्ट  

काठमाडौं । घाटामा सञ्चालन हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्ततः मूल्य घटाएको छ ।

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा झन्डै ५० रुपियाँ मूल्य घटाएको हो ।

उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उद्योग लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।

निजी उद्योगसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको र उत्पादन भएको सिमेन्टसमेत बिक्री हुन छाडेपछि उद्योगले आफुले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ ।

उद्योगले मूल्य घटाएको ५० केजी बोराको सिमेन्टको कारखानाद्धारा मूल्य ६४९ रुपियाँ ७५ पैसा बनाएको छ । उद्योगमा नायब महाप्रबन्धक (प्राविधिक) नवीनकुमार कर्णले घटाएको मूल्य आइतबारबाट लागु भएको जानकारी दिनुभयो ।

उक्त मूल्यमा उद्योगले ५६७ रुपियाँ मात्र पाउने छ भने बाँकी सरकारलाई करमा जाने छ । नायब महाप्रबन्धक कर्णले बजारमा सिमेन्टको माग कम भएको र उद्योगमा मौज्दात रहेकोले निजी उद्योगसँग प्रतिस्पर्धा गर्नका लागि समेत सिमेन्टको मूल्य घटाउन बाध्य भएको बताउनुभयो ।

“बजारमा माग घट्दै गएको छ,” उद्योगमा मौज्दात बसिरहेको छ, आर्थिक समस्या पनि बढ्दै छ, “त्यसैले प्रतिस्पर्धामा टिक्न टिक्न र उद्योगलाई बचाउ पनि मूल्य घटाउनुको विकल्प रहेन । उहाँका अनुसार अहिले पनि उद्योगको एक लाख २० हजारभन्दा बढी समेन्ट मौज्दात छ तर बजारमा माग छैन ।

कोइला अभावमा उद्योग बन्द, फायरिङको प्रयास असफल

शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उद्योग कोइला अभावमा झन्डै डेढ महिनादेखि बन्द रहेको छ । कच्चा पर्दाथ कोइला नभएर र आपूर्ति हुँदासमेत थोरै परिमाणमा आउँदा गत आर्थिक वर्षमा उद्योगको उत्पादन पटक–पटक बन्द भएको थियो ।

कोइला अभावकै कारण गत असार ३० गते रातिबाट क्लिङ्कर उत्पादन बन्द भएकामा कोइला आपूर्ति भएसँगै सोमबार उद्योगको किलमा फायरिङ (लाइट अप) गर्ने प्रयास भए पनि असफल भएको छ । फायरिङ गर्ने प्रयास मगंलबार भएको थियो । अब शुक्रबार मात्र फायरिङ प्रयास गरिने जनाइएको छ । उद्योग व्यवस्थापनले कमचारी व्यवस्था गर्न नसक्दा यो समस्या आएको जनाइएको छ ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।