झापाको बाह्रदशीमा गुणस्तरहिन खानेपानीः साधुकुटी खानेपानीद्वारा चरम लापरबाही

दियोपोस्ट संवाददाता  

झापा । झापाको बाह्रदशी गाउँपालिकामा खानेपानी गुणस्तरहिन भएको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएका छन् । पालिकाका वडा नम्बर –६मा अवस्थित साधुकुटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले धमिलो तथा लेदोसहितको पानी वितरण गरेको र विगत करिब १५ वर्षदेखि संस्थाले साधारणसभा नगरेको भन्दै विरोधमा उत्रिएका हुन् । ३७ जना उपभोक्तले खानेपानी समितले शुद्ध खानेपानी वितरण नगरेको र समितिको स्थापनादेखि नै कुनै पनि अडिट सार्वजनिक नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।

उनीहरुले लिखित रुपमा नै खानेपानी समितिलाई जानकारी तथा ध्यानाकर्षण गराएका छन् । पानीको गुणस्तर विग्रदो अवस्थामा रहेको, पानी आउने जाने समय तालिका नभएको, समितिले आय व्यय सार्वजनिक नगरेको भन्दै यी समस्याहरु सम्बोधन गर्न पत्रमार्फत समितिलाई ध्यानाकर्षण गराएका छन् ।

एक उपभोक्तका अनुसार सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि बेवास्ता गर्दै आएको छ । उनले भने, “यो खानेपानी समितिको सुरुवातादेखि नै अहिलेसम्म एकपटक पनि अडिट भएको छैन । न त आए व्यय सार्वजनिक भएको छ । साधारण सभासम्म भएको छैन हामीले महिना महिनामा तिरेको रकम के भइरहेको छ त्यसको हामी उपभोक्तालाई कुनै जानकारी छैन ।”

साथै उनले खानेपानी संस्थाले आफूहरुको स्वास्थ्यमाथि पनि गम्भिर खेलवाड गरेको आरोप लगाएका छन् । “सम्पूर्र्ण उपभोक्ताको स्वास्थ्यमाथि नै ठूलो खेलवाड भइररहेको छ । कहिले पानी रातो आउछ कहिले धमिलो आउँछ । हामीले समस्या सुनाउदा पनि अहिलेसम्म हाम्रो न सुनुवाइ भएको छ न सुधार नै,” उनले भने ।
यो संस्थाको चरम लापरबाही भएको भन्दै सम्बन्धित निकायले यसमा ध्यान दिनु पर्ने उनको भनाई छ ।