
काठमाडौं । निर्माणकै क्रममा नक्सालबासीलाई हैरानी दिएर पटक–पटक विवादमा तानिएको शंकर समुहद्वारा निर्माण सम्पन्न भई अन्तर्राष्ट्रिय चेन होटल ’हिलटन’का नक्सालबासी हैरान भएका छन् ।
होटल सञ्चालनका नाममा अव्यवस्थितरुपमा प्रयोगमा ल्याइएका मेसीनरी तथा निकै पावरफूल जेनेरेटरबाट निस्कने चर्काे आवाज र प्रदुषित धुवाँको उचित व्यवस्थापन नहुँदा स्थानीयवासी पिडीत भएका हुन् । होटल वरपरका २६ जना पीडित स्थानियले आफू र आफ्नो परिवारको शान्ति र स्वस्थ जिवन होटलले खोसेको गुनासो गरेका छन् ।
पीडित उनीहरुले नक्सालस्थित काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को कार्यालयलाई लिखित उजुरी गर्दै आफ्नो गुनासो पोखेका हुन् । गत असार २३ गते गरीएको उजुरीको दर्ता नम्बर १२० हो । वडा कार्यालयमा गरिएको उजुरीको बोधार्थ जिल्ला प्रशासन कार्यालय, पर्यटन विभाग र काठमाडौं महानगरपालिकालाई पनि दिइएको छ ।
वडामा उजुरी गरिएपछि वडा अध्यक्ष, सचिव, महानगरीय प्रहरी लगायत कर्मचारीले स्थलगत निरीक्षण पनि गरेको तर, होटलबाट भएको लापरवाही अझैसम्म नसच्चिएको गुनासो पिडीत पक्षको छ । मालिगाउँस्थित प्रहरी वृत्तका डिएसपीलाई पनि डाकेर आफ्नो पिडा स्थलगतरुपमै सुनाएको उनीहरुले बताए ।
’हामीले उजुरबाजुर गर्यौं, त्यो त झन् उनीहरुका लागि अनुचित आम्दानीको स्रोत पो बनेछ । हामीसँग हो तपाईंहरुमाथि हेपाहा प्रवृत्ती भएकै हो भन्ने अनी उता गएर त्यता पनि ठिक्क देखिने ?’ एक स्थानियले दियोपोस्टसँग भने ।
’डेढ महिना भइसक्दा पनि हाम्रो समस्या ज्यूँकात्यूँ छ, हामीले दैनिक कस्तो समस्या भोगीरहेका छौं भन्ने जिम्मेवार पक्षलाई स्थलगतरुपमै देखाइसक्दा पनि हामी पिडीत २६ घरपरिवारले दिएको उजुरी उपर सुनुवाई नहुनु दुर्भाग्य नै हो,’ पिडीत पक्षको गुनासो छ ।
आफूहरुले भोग्दै आएको समस्याप्रति सरकारी निकायले आवश्यक चासो नदिएको तर्फ संकेत गर्दै पीडित पक्षले यसलाई सरकारी निकायको गम्भीर कमजोरीका रुपमा बुझेका छन् । ‘के–के न गरेको देखाउन थर्मसमा चिया बेचेर जिविकोपार्जन गर्नेमाथि अमानविय व्यवहार गर्ने, विहान–बेलुकी हातमुख जोर्न सडकपेटीमा बसेर सानोतिनो व्यापार गर्नेमाथि धरपकड गर्ने महानगर प्रहरीले २६ घरपरिवारको याचना भने सुनेको नसुन्यै, देखेको नदेख्यै गरिरहेको छ,’ ती स्थानिय बताउँछन् ।
पिडीतले वडा कार्यालयमा गरेको उजुरीमा होटलमा प्रयोग हुने विभिन्न मेसिनरी तथा जेनेरेटरको आवाज र होटलको भान्सा तथा जेनेरेटरबाट आएको धुवाँलाई व्यवस्थित नगर्दा होटलको नजिकमा बसोबास गर्ने आफूहरुलाई ठूलो ध्वनी र दुषित बायुका कारणले गम्भीर असर पारेको भन्दै आफ्ना बालबच्चाको पढाईमा समेत असर पुगेको उल्लेख छ । त्यस्तै, आफ्ना वृद्ध–वृद्धा अभिभावकको स्वास्थ्यप्रति समेत चिन्ता थपिएको गुनासो गर्दै न्यूनतम शान्त, स्वच्छ र स्वस्थ्य वातावरणमा जीवनयापन गर्न पाउने संवैधानिक तथा कानूनी हकलाई समेत असर पार्ने गरी निर्माणाधिन होटल सञ्चालनमा ल्याइएकाले होटल व्यवस्थापनलाई कार्यालयमै उपस्थित गराई पिडीत स्थानीयवासीको माग सम्वोधन गर्ने तर्फ पहल गरिदिन उजुरी मार्फत अनुरोध गरिएको छ ।
यसै विषयमा अब केही दिनमै मेयर बालेन साहलाई उनकै कार्यकक्षमा भेटेर आफ्नो समस्या बताउने र मिलेसम्म स्थलगत निरीक्षण पनि गर्न लगाउने पिडीतहरुको तयारी छ ।
स्मरणीय छ, नक्सालस्थित हिलटन होटल व्यवस्थापनले होटल निर्माणका क्रममा जग खन्न थालेदेखि नै स्थानीयवासीका लागि राक्षेसी प्रवृत्ति देखाउँदै आएको हो ।
थोरै क्षेत्रफलमा बनाउन लागिएको होटलले तारे होटलको मापदण्ड पूरा गर्न जग्गाको क्षेत्रफल बढाउनैका लागि वरपरका घर खरिद गर्न र घर जग्गा विक्री गर्न नमान्ने छिमेकीका घरको जगमुनीकै माटो खोसलीदिएर घरै चर्काइदिने सम्मको हर्कत देखाएको थियो भने निकै गहिरो खनिएको जगको माटो फाल्न तथा निर्माण सामाग्री ओसार्ने गर्दा रातैभरी चर्काे आवाजले स्थानीयवासीले निकै पिडा भोग्नु परेको थियो । पटक–पटक त्यसो नगर्न महानगरपालिका, स्थानीय प्रहरीले समेत निर्माणकर्तालाई चेतावनी दिनु परेको थियो । लापरवाहीपूर्ण तरिकाले खनिएको गहिरो जगका कारण नक्सालको सडक नै आधा भासिँदा पनि शंकर ग्रुपमाथि खासै कारवाही भएन ।
राजधानी त्यसमा पनि नेपाल प्रहरीको मुख्यालयकै सामुन्य दिनहुँ स्थानीयवासीमाथि त्यत्रो अच्याचार भइरहँदा पनि सम्वन्धित पक्षले आवश्यक चासो नदिनुलाई धेरैले आर्थिक चलखेलका रुपमा बुझेका छन् । अहिलेलाई स्थानीयवासी पिडीत भइरहे पनि नेपाल प्रहरीको मुख्यालयलाई नै सुरक्षा चुनौति पुग्ने गरी निर्माण गरिएको गगनचुम्बी होटलबाट भविष्यमा के–कस्तो समस्या वा अकल्पनिय क्षती स्वयम् नेपाल प्रहरीले नेपाल प्रहरीलाई थाहा होला ।
नेपालमा विभिन्न आपराधिक गतिविधि समेत गर्दैै आएको सुलभ अग्रवाल र साहिल अग्रवाल समुहले यो होटल नेपालमा संचालन गरेको हो । लोडसेडिङका क्रममा विद्युत प्रयोग गरेबापत नेपाल सरकारलाई २ अर्बभन्दा बढी रुपैयाँ नतिरेर आलटाल गर्दै आएको छ । प्रधानमन्त्री केपी अोलीले केहीदिन अघि यो होटलको उद्घाटन गरेका थिए । ओलीको सहभागीताले होटलको राजनीतिक कनेक्सन समेत देखाएको थियो ।