प्रेम र विछोडको गीत ‘भो यो माया’ सार्वजनिक

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली सांगितिक दुनियाँमा प्रेम र विछोडको गीत ‘भो यो माया’ सार्वजनिक भएको छ । नारायण सुवेदी ‘आभास’को स्वर र समिप आचार्यको शब्द तथा संगीत रहेको गीत ‘भो यो माया’ सार्वजनिक सोमबार सार्वजनिक भएको हो ।

गीतले प्रेममा टुटेका आशा र एक्लोपनको बन्धन बोलेको छ । यही यथार्थलाई गीतमा हृदयस्पर्शी ढंगले प्रस्तुत गरिएको छ ।

उदयराज पौडेलको एरेञ्जमेन्ट, किशोर थापाको मिक्सिङ,मास्टरिङ र मोनीश चाम्लिङको रेकर्डिङले गीतलाई पूर्णता दिएको छ । साथै, सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको बेजोड वाद्य संयोजनले गीतमा मौलिकता थपेको छ ।

भिडियो तर्फ कलाकारहरु किरण तामाङ र ललिता थापाले प्रेम र पीडाको मार्मिक कथा प्रस्तुत गरेका छन् । कर्ण बहादुर खड्काको छायाँकन, सुन्दर क्षेत्रीको सम्पादन र मिना बुढाथोकी सावित्रीको निर्देशनले यो भिडियोलाई उत्कृष्ट कलाकृति बनाएको छ ।

गीतकार आचार्यले गीतमा कहिले मायालुको छायाँमा नै हराउने, कहिले त्यहि मायामा छलकपट भेटिने, कहिले बाटो विराएर भौतारिने त कहिले मायामा गरिएका बाचा बन्धनमा दरार आउने जस्ता अवस्थाहरूलाई बिम्ब र प्रतीकमार्फत उजागर गरेका छन् ।

गीतमा प्रेममा धोका पाएको पात्रको पीडालाई भावनात्मक रूपमा व्यक्त गरिएको छ । गीतले श्रोतालाई प्रेमको मीठाससँगै त्यसले ल्याउने पीडा र बिछोडको गहिरो यथार्थ प्रस्तुत गरेको छ ।

गीतमा प्रेमको बाटोमा आएको भ्रम र दिशाहीनतालाई प्रष्टाइएको छ । ‘प्रेमको यात्रा सधै एकनासको हुदैन, विभिन्न आरोह अवरोहहरु आउँछन् तर सहजतामा रमाउने र असहजतामा साथ छोड्ने गर्दा प्रेमिल मनमा पिडावोध हुन्छ, प्रेममा उकालो जस्तो कठिन र ओरालो जस्तो सहज परिस्थिति दुवै हुन सक्छ तर बाटो हराउँदा त्यसले पीडा मात्र दिन्छ । सहज, असहज दुवै परिस्थितिमा प्रेमिल रहन सके मात्र प्रेम सफल हुन्छ,’ भन्ने सन्देश पनि गीतमा रहेको छ ।

गीतले प्रेमको आकर्षण र विछोडको अप्रिय सत्य दुबैलाई प्रस्तुत गरेको छ । गीतका हरफहरूले प्रेमको मीठासभन्दा बढी प्रेमले दिने पीडा, धोका र निराशाको गहिरो अनुभूतिको चित्रण गरेको छ । गीतकारले प्रेमलाई अनेकौं रूपमा सम्बोधन गर्दै यसको असली अनुहार उघारेका छन् ।