
काठमाडौँ । अदालती पत्रकारितालाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यले तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ शुक्रबार सार्वजनिक गरिएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल, न्यायाधीश सुनिल पोखरेल र नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रलगायतले संयुक्तरूपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।
मुख्यतः अदालती रिपोर्टिङका क्रममा प्रयोग हुने भाषा, कुन शब्दावलीले के जनाउँछ, के गरे अदालतको मानहानि गरेको मानिन्छ लगायतका कुराहरूलाई सहजरुपमा बुझाउने गरी उदाहरण सहित यो पुस्तक तयार पारिएको छ । मुख्यतः अदालती रिपोर्टिङ गर्ने पत्रकार र आगामी दिनमा अदालती पत्रकारितामा जोडिन चाहनेहरूका लागि यो पुस्तक निकै लाभदायी रहने अपेक्षा गरिएको छ ।
करिब तीन वर्ष को तयारीपछि प्रकाशनमा ल्याइएको उक्त पुस्तक संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पूर्व अध्यक्ष डा. लीलाधर उपाध्याय र सर्वोच्च अदालतका शाखा अधिकृत राकेश बमको संयुक्त लेखन तथा सम्पादनमा तयार पारिएको हो । मञ्चले सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिसँगको सहकार्यमा यो पुस्तक प्रकाशन गरेको हो ।

पुस्तक विमोचनपछि बोल्दै न्यायाधीश फुयाँलले कानुनी पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकार तथा नवप्रवेशीका लागि यो पुस्तक महत्त्वपूर्ण मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘कानुनी पत्रकारिता पहिलाभन्दा स्तरीय हुँदै गएको छ । पहिला कानुनमा समाचार लेख्ने पत्रकारको सङ्ख्या नगण्य हुन्थ्यो भने अहिले सङ्ख्यात्मक वृद्धि भएको छ ।’
सूचना प्रविधिको विकाससँगै अदालतहरू सूचनामा पारदर्शी बन्दै गएको र प्रवक्ता तथा सूचना अधिकारीको व्यवस्थासँगै वेबसाइटमार्फत सूचना लिन सकिने व्यवस्थाले पत्रकारलाई सहजीकरण भइरहेको फुयाँलको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजय मिश्रले यो प्रकाशन न्यायिक पत्रकारिताका लागि मात्र नभई समग्र पत्रकारिताकै लागि महत्त्वपूर्ण स्रोत सामग्री हुने बताए । उनले भने, ‘सामान्य कानुनी ज्ञान हासिल गरेको वा कानुनी ज्ञानै नभएकाले अदालतको समाचार लेख्दा तात्त्विक भिन्नता पर्छ । त्यस कारण यस पुस्तकले त्यस्तो भिन्नतालाई न्यूनीकरण गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ ।’

मञ्चका पूर्व अध्यक्ष डा. लिलाधर उपाध्यायले पुस्तक अदालती पत्रकारिता गर्ने पत्रकारका लागि महत्त्वपूर्ण दस्ताबेज भएको बताउँदै यसले अदालती पत्रकारिताको क्षेत्रलाई थप उत्तरदायी बनाउने अपेक्षा राखेको बताए । मञ्चकी अध्यक्ष कालिका खड्काले अदालती समाचार लेख्ने तथा कानुनी पत्रकारिताको अध्ययन गर्न चाहने सबैका लागि यो पुस्तक सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

पुस्तकमा नेपालको न्यायिक तथा अदालती पत्रकारिताको इतिहास, मिथ्या सूचना पत्ता लगाउने तरिका, अदालती बिट पत्रकारिता गर्दा अपनाउनुपर्ने संवेदनशीलता, यसका चुनौतीहरू, अदालतको अवहेलनासम्बन्धी विषय तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरू समेटिएका छन् । यस्तै संवैधानिक व्यवस्था, अदालतको संरचना, अर्धन्यायिक निकाय, मुद्दाका प्रक्रिया, मानव संसाधन र अदालती समाचार लेख्दा पालना गर्नुपर्ने आचरणगत मार्गदर्शन पनि पुस्तकमा समावेश गरिएका छन् ।