लहान र जनकपुरधाममा कर्फ्यु हट्यो, गोल बजारमा यथावत्

दियोपोस्ट संवाददाता

सिराहा/जनकपुरधाम । सिराहाको लहान र धनुषाको जनकपुरधाममा जारी कर्फ्यु हटाइएको छ । तर सिराहाको गोल बजारमा भने कर्फ्यु यथावत् नै राखिएको छ ।

सुनसरी देवानगञ्ज घटनापछि मधेसका विभिन्न जिल्लाहरूमा भएका विरोध प्रदर्शनका कारण स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । तर, अहिले सिराहाको लहान र जनकपुरधामको अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु हटाइएको हो ।

धनुषाको जनकपुरधाममा गत बिहीबार दिउँसो ३ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो । शनिबार बिहान १० बजेदेखि भने कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले दियोपोस्टलाई बताए ।

यसअघि नै सुनसरीमा पनि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिसकिएको थियो ।

सिराहाको गोल बजारमा भने अझै कर्फ्यु जारी नै राखिएको छ । सुनसरीमा दुई समूहबिचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको विरोधमा गोल बजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सोही घटनापछि गोल बजारमा थप तनाव बढेको थियो ।

सुनसरीको घटनापछि जनकपुरधामसहित मधेसका जिल्लाहरूमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शन रोक्न स्थानीय प्रशासनले विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । अहिले अधिकांश स्थानको अवस्था सामान्य बन्दै गए पनि गोल बजारको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै कर्फ्यु कायमै राखिएको प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर