
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेकाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भू-भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । यस अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै आज राति वर्षाको गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू–भाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाकाले भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।