जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ

दियोपोस्ट संवाददाता

चितवन । जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदी  भरुवा बन्दुकसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका – ११ थाकलटार बस्ने ४५ वर्षीय आईतसिंह लामा रहेका छन् । 

उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले बिहीबार उनकै घर नजिकैबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामा एक सिंगे गैँडा मारी वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् ।

उनलाई अदालतले १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी सोही सजाय काट्ने क्रममा भरतपुर कारागारमा रहेका थिए । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।