
सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यु आदेश केही समयका लागि खुकुलो पारेको छ ।
प्रशासनले सुरक्षा अवस्थाको विश्लेषणपछि आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यु खुला गरिएको जनाएको छ ।
स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुकुलो बनाउने वा पुनः लागू गर्ने विषयमा आवश्यक निर्णय गरिने पनि सूचनामा उल्लेख छ ।
कर्फ्यु खुकुलो पारिएको अवधिमा गोलबजार क्षेत्रमा लामो दूरीका सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गरिने जनाइएको छ। यद्यपि, पाँच जनाभन्दा बढी व्यक्ति समूहमा भेला हुन भने निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति-सुरक्षा कायम राख्न, प्रशासनका निर्देशन पालना गर्न तथा कुनै पनि उच्छृंखल गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।
