अमेरिकाले नेपाललाई भिसा बन्डकाे सूचीमा राख्यो, नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने

दियोपोस्ट संवाददाता

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० देशका नागरिकलाई भिसा बन्ड (धरौटी) राख्नुपर्ने नियम लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश, भुटानलगायतका देशका नागरिकले अमेरिकी बी-१ (व्यावसायिक) र बी-२ (पर्यटक) भिसाका लागि आवेदन दिँदा अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने नियम लागू गरेको हो ।

यो रकम नेपाली रुपैयाँमा  करिब ३० लाख रुपैयाँभन्दा  हुन जान्छ ।

अमेरिकाले यसअघि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको भिसा बन्ड कार्यक्रमलाई अब स्थायी बनाएको हो । नयाँ नियम अगस्ट ३ देखि लागू हुने तालिका छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा लिएपछि तोकिएको अवधिभन्दा बढी अमेरिका बस्ने अर्थात् भिसा ओभरस्टे गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरिएको हो ।

यसअघि भिसा बन्ड कार्यक्रमअन्तर्गत ५ हजार, १० हजार र १५ हजार अमेरिकी डलर धरौटी राख्ने व्यवस्था थियो । तर नयाँ नियमसँगै ५ हजार डलरको विकल्प हटाइएको छ । अब सम्बन्धित आवेदकले १० हजार वा २० हजार अमेरिकी डलर मात्र धरौटीका रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ प्रावधानअनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ताअघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ । यदि भिसा आवेदन अस्वीकृत भएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ । त्यसैगरी, भिसा स्वीकृत भएर अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै सर्त र नियमको पालना गरी तोकिएको समयमै स्वदेश फर्किएमा बन्ड रकम फिर्ता पाइनेछ ।