
एजेन्सी । इराक र टर्कीबीच कच्चा तेल निर्यात गर्ने सम्बन्धमा एक वर्षीय सम्झौता भएको छ । इराक र टर्कीबीच इराक-टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी विश्व बजारमा निर्यात गर्ने एक वर्षे नयाँ सम्झौता भएको हो ।
नयाँ सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक न्यूनतम सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकका तेलमन्त्री बासिम मोहम्मद खुदैरले शनिबार सम्झौता कार्यान्वयनका लागि दुवै देशका सम्बन्धित कम्पनीले आवश्यक प्रक्रिया सुरु गर्ने बताएका छन् ।
इराकका प्रधानमन्त्री अली अल-जैदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत दुवै देशले तेल, विद्युत्, जलस्रोतलगायत आपसी हितका क्षेत्रमा दीर्घकालीन सहकार्यको विस्तृत ढाँचा तयार गर्ने प्रक्रियालाई अघि बढाउने जानकारी दिएका छन् ।
टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्पार्सलान बायराक्तारले सेहान बन्दरगाह हुँदै विश्व बजारमा इराकी तेल पुर्याउने पाइपलाइन क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा आपूर्ति सुरक्षाका दृष्टिले रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताएका छन् ।
सेहान बन्दरगाहमार्फत इराकी तेल निर्यातसम्बन्धी दशकौँ पुरानो सम्झौताको अवधि सोमबार समाप्त भएपछि दुवै देशले नयाँ सम्झौता गरेका हुन् । ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा बढ्दो तनावका कारण समुद्री ढुवानी प्रभावित हुन सक्ने जोखिमबीच इराकले तेल निर्यातका वैकल्पिक मार्गलाई थप सुरक्षित बनाउने रणनीति अपनाएको बताइएको छ ।
कच्चा तेल निर्यात इराकको अर्थतन्त्रको मुख्य आधार मानिन्छ । तेल बिक्रीबाट प्राप्त आम्दानीले देशको कुल सरकारी राजस्वको करिब ९० प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।