राजविराज र बोदेबरसाइनमा हट्यो कर्फ्यु, निषेधाज्ञा भने अझै जारी

दियोपोस्ट संवाददाता

राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट उक्त स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनका निर्णयमा सहयोग गर्न आग्रह गरेको छ । प्रशासनका अनुसार अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा कायम रहनेछ ।

यसअघि प्रशासनले गत बिहीबार राति १० बजेदेखि बोदेबरसाइन नगरपालिका क्षेत्रमा तथा शुक्रबार बिहान ८ बजेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । आइतबार बिहान भने दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुकुलो बनाइएको थियो ।

अब दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न अर्को आदेश नभएसम्म प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ ।