११ किलो गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । थाइल्यान्डबाट ल्याइएको ११ किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको पन्जाब राज्यको लुधियाना घर भएका ३० वर्षीय सोनी, पन्जाबकै २३ वर्षीय जागरूप सिंह तथा हरियाणाका २२ वर्षीय साहिल रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गौचर शाखाबाट खटिएको प्रहरी टोलीले यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूमाथि शंका लागेपछि जाँच गरेको थियो ।

प्रहरीका अनुसार शनिबार राति क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर CX–६०३ मार्फत थाइल्यान्डबाट हङकङ हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकले आफ्नो झोलाभित्र लुकाएर ११ किलो गाँजा ल्याएका थिए । उनीहरूले ल्याएको गाँजा बुझ्न विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूको साथबाट ११ किलो गाँजा, तीन थान पासपोर्ट र तीन थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।