
काठमाडौं । वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर भएका विपद्का घटनामध्ये सर्पदंश सबैभन्दा घातक र धेरै देखिएको विपद् बनेको छ । पछिल्लो २४ घण्टामा पनि सबैभन्दा बढी सर्पदंशकै घटना दर्ता भएको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन महिना १७ दिनको अवधिमा देशभर ४ हजार ५३ वटा विपद्का घटना भएका छन् । ती घटनामा १ सय ९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १ हजार २ सय १८ जना घाइते भएका छन् । यस अवधिमा ५ हजार १ सय ८८ परिवार प्रभावित भएका छन्।
तथ्यांकअनुसार सर्पदंशका मात्रै ७ सय १६ वटा घटना भएका छन्, जसमा ५४ जनाको मृत्यु र ६ सय ६८ जना घाइते भएका छन् । सर्पदंशबाट ७ सय १८ परिवार प्रभावित बनेका छन् । यसले चालु सिजनमा सबैभन्दा धेरै मानवीय क्षति पुर्याएको विपद्का रूपमा स्थान बनाएको छ ।
सर्पदंशपछि आगलागीका १ हजार २४ घटना भए पनि त्यसबाट २० जनाको मृत्यु भएको छ । त्यस्तै, पहिरोका ६ सय ८५ घटनामा २० जनाको मृत्यु, चट्याङका २ सय ३१ घटनामा २५ जनाको मृत्यु, लेक लाग्ने ५७ घटनामा २२ जनाको मृत्यु, जनावर आक्रमणका २ सय २५ घटनामा १८ जनाको मृत्यु, बाढीका २ सय घटनामा १४ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
यता, साउन १७ गते बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा देशभर ३४ वटा विपद्का घटना भएका छन् । तीमध्ये सबैभन्दा बढी १४ वटा सर्पदंशका घटना ८ जिल्लामा दर्ता भएका छन् । यसबाट १ जनाको मृत्यु र १३ जना घाइते भएका छन् ।
त्यसैगरी, १० जिल्लामा ११ वटा आगलागीका घटनामा ५ जना घाइते भएका छन् भने ४ जिल्लामा ६ वटा पहिरोका घटनामा १ जना घाइते भएका छन्। ३ जिल्लामा जनावर आक्रमणका ३ वटा घटनामा १ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका ३४ वटा विपद्का घटनामा १ जनाको मृत्यु, २० जना घाइते भएका छन् । उद्धार तथा सुरक्षाका लागि २ सय ७१ जना नेपाल प्रहरी परिचालन गरिएको थियो । यस अवधिमा करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको, १८ वटा चौपाया मरेका तथा २ स्थानमा सडक अवरुद्ध भएको पनि प्राधिकरणले जनाएको छ ।