जब सिक्री लुटेराले खुकुरी हान्न खोजे … त्यसपछि चल्यो गोली

दियोपोस्ट संवाददाता

काठमाडौँ । गत असार १३ गते अपराह्न करिब ४ बजे शान्तिनगरमा २२० सिसीको मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले एक बटुवालाई सोध्छन्, ‘पेप्सीकोला जाने बाटो कता हो ?’ जवाफमा बटुवाले पेप्सीकोला जाने बाटो देखाइदिएर अगाडि बढ्छन् ।

तर बाटो नचिनेर सहयोग मागेपछि सहयोग गरेका तिनै व्यक्तिलाई मोटरसाइकलको पछाडि बसेका व्यक्तिले बाटोमै लडाउँछन् अनि लछारपछार गर्छन् । त्यसपछि ती बटुवाको घाँटीमा लगाइराखेको साँढे २ तोलाको सुनको सिक्री लुटेर उनीहरू फरार हुन्छन् । घटनाको जानकारी आउने बित्तिकै प्रहरी सक्रिय त हुन्छ, तर लुटेराहरूको हुलिया, मोटरसाइकल नम्बर आदिको खोजी गर्दा केही पत्ता लाग्दैन ।

त्यसको दुई दिनपछि अर्थात् असारको १३ गते लगभग उस्तै समयमा फेरि उस्तै प्रकारको लुटपाट भयो । नरेफाँटको निलो पुलनजिक हिँड्दै गर्दा एक बटुवालाई त्यस्तै गरी बाटो सोधियो । त्यति बेला जडीबुटी जाने बाटो कता हो भनी सोधेपछि उनले पनि बाटो बताइदिएका थिए । त्यसपछि अगाडि बढ्दै गर्दा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले ती व्यक्तिलाई समेत लडाएर उनले घाँटीमा लगाइरहेको ३ तोलाको सुनको सिक्री लुटे उनी उसै गरी मोटरसाइकलमा चढेर फरार भए । यहाँ पनि लुटपाटमा दुई व्यक्तिकै संलग्नता थियो भने २२० सिसीकै मोटरसाइकलको प्रयोग भएको थियो । फरक यत्ति थियो, मोटरसाइकलको नम्बर प्लेट परिवर्तित थियो ।

असार १५ गते नै साँझ ८ बजेको समयमा बनेपामा पनि त्यस्तै लुटपाटको घटना भयो । बनेपाको सेतीदेवी दुग्ध सहकारी गाई फार्म नजिकै दूध लिन जाने क्रममा पछाडिबाट मुख छोपी, घाँटीमा समातेर बोल्नसमेत नदिई लछार पछार र कुटपिट गरी घाँटीमा लगाएको १ तोला २० लालको सुनको सिक्री लुटेर २२० सिसीकै मोटरसाइकल चढेर फरार भए ।

गत साउन ७ गते फेरि सोही प्रकृतिको अर्को घटना भयो । मोटरसाइकलमा दुई जना व्यक्ति, २२० सिसीको मोटरसाइकल अनि एकान्त स्थान वा कोही नभएको मौका पारी लुटपाट । साउन ७ गते काठमाडौँको धापासी हाइट नजिकै ६६ वर्षीय वृद्धले लगाएको एक तोलाको सुनको सिक्री लुट्न ती वृद्धलाई लछारपछार गरे अनि सिक्री लुटेर फरार भए ।

यी सबै घटनाहरूमा मंगोलियन अनुहार, सबैतिरको उस्तै हुलिया, २२० सिसीकै मोटरसाइकल आदिको संलग्नता पाइएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका वृत्तहरूले यी लुटेराहरूको व्यापक खोजी गरे ।

खोजीका क्रममा सिक्री लुटपाटमा संलग्नहरूको पुरानो हिस्ट्री निकाले, २२० सिसीको मोटरसाइकलको पहिचान लिने कोसिस गरे र सिसिटिभी फुटेजको सूक्ष्म अनुसन्धान गरे ।

अनुसन्धानका क्रममा सिक्री लुटपाटमा संलग्न मानिसहरू पुरानै अपराधी रहेको र पटक पटक जेल बसिसकेकाहरू खुल्यो । घटनामा संलग्न एक जनाको पहिचान खुलेपछि प्रहरीले ती व्यक्तिको खोजी गर्दै काभ्रे पुग्यो र काभ्रेबाटै पक्राउ गर्‍यो । सोही व्यक्तिसँग केरकार गरिसकेपछि उनले घटनामा संलग्नहरूको फेहरिस्त प्रहरीलाई दिए । त्यसपछि यो अपराधमा संलग्न ४ जनालाई काभ्रेपलान्चोकको बनेपाबाट साउन १५ गते नै पक्राउ गर्‍यो । तर यो अपराधको मास्टरमाइन्डसमेत रहेका कर्मा तामाङ भने सम्पर्कविहीन भइसकेका थिए ।

प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले कर्मामाथि गोली चलायो

यता काठमाडौँ प्रहरीसँग मास्टरमाइन्ड कर्मा तामाङको आवतजावत हुने स्थान र बसोबास हुने सम्भावित स्थानको जानकारी थियो । त्यसपछि साउन १५ गते शुक्रबारदेखि नै प्रहरीको कर्माको खोजीमा जुटेको थियो ।

शुक्रबार राति समेत विभिन्न स्थानमा कुरेर बसेको भए पनि कर्मालाई फेला पार्न नसकेपछि शनिवार बिहानैबाट प्रहरी फेरि पनि कर्माकै खोजीमा परिचालित भयो । खोजीकै क्रममा साउन १६ गते शनिवार राति १० बजेर २५ मिनेट जाँदा कर्मालाई बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेल, गाम्चास्थित पानी ट्याङ्की नजिकै उनलाई देखियो ।

मोटरसाइकलमा रहेका कर्मालाई रोक्ने बित्तिकै कर्माले उनीहरू प्रहरी रहेको थाहा पाए । अनि आफूसँग रहेको खुकुरीले प्रहरीमाथि नै आक्रमण गर्न लागे । प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले कर्मामाथि गोली चलायो । प्रहरीले चलाएको तीन राउन्डमध्ये एक राउन्ड गोली कर्माको घुँडा मुनी लाग्यो र उनी ढले । त्यसपछि उनलाई उपचारका लागि पठाएर घटनास्थलबाट प्रहरीले एउटा खुकुरी, मोटरसाइकलको फरक फरक नम्बर भएको पाँच वटा प्लेट, मोटरसाइकल चोर्न प्रयोग हुने टी लक, मास्टर कि र एक थान मोटरसाइकलसमेत बरामद गर्‍यो । हाल कर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रहरीका अनुसार कर्माले मुख्य गरी २२० सिसीको मोटरसाइकलको चोरी गर्ने, चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट तत्कालै परिवर्तन गर्ने र सुनको सिक्री तथा गरगहनाको लुटपाटमा प्रयोग गर्ने गरेको पाइएको छ ।
प्रहरीले काठमाडौँ, बनेपा लगायतका स्थानबाट लुटपाट गरी लगेको सुनका सिक्रीहरू किनेको र गालेको अभियोगमा सुन पसलेलाई समेत पक्राउ गरेको छ ।

को को परे पक्राउ ?

काठमाडौँ प्रहरीले सिक्री लुटपाटको घटनामा संलग्न ४ जना र लुटपाट गरिएको सुनको गरगहना खरिद गरी स्वरूप बिगारेर बिक्री गर्ने सुन पसलेलाई समेत पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा कर्मा तामाङ, पासाङ घिसिङ, प्रतिमान गोले, आले गुरुङ र मनोज तामाङ रहेका छन् । मनोज तामाङ बनेपाका सुन व्यापारी हुन् ।

आरोपित १ : कर्मा तामाङ

पक्राउ परेकाहरूमा कर्मा तामाङ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ४ स्थायी ठेगाना भएका व्यक्ति हुन् । ३४ वर्षीय तामाङको देखिने पेसा सवारी चालक हो भने वास्तविक पेसा चोरी तथा लुटपाट हो । लुटपाटको क्रममा तामाङ मोटरसाइकल चलाउने राइडरका रूपमा काम गर्ने गरेको र यी लुटपाटका मास्टरमाइन्ड रहेको प्रहरीको दाबी छ ।

आरोपित २ : प्रतिमान गोले

३० वर्षका प्रतिमान गोले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका १० का बासिन्दा हुन् । गोले कर्मा समूले गरेका सबै लुटपाटका घटनामा राइडरको काम गरेको पाइएको छ । गोले यसअघि पनि डाँका चोरी मुद्दामा नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेकोमा भदौ २३ र २४ गतेको घटनामा कारागारबाट भागेकोमा इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरी पुनः कारागारमा पठाइएका र कैद भुक्तान गरी कारागारबाट छुटेको व्यक्ति हुन् । उनी कारागारबाट छुटेको ३ हप्तामै फेरि लुटपाटमा संलग्न हुन थालेको पाइएको हो । उनी विरुद्ध २०८२ जेठ ४ गते प्रहरी वृत्त महराजगंज र २०८२ साउन ४ गते प्रहरी वृत्त चापागाँउबाट डाँका चोरीको कसुरमा मुद्दा चलेका व्यक्ति हुन् ।

आरोपित ३ : पासाङ घिसिङ

काभ्रेको पनौती नगरपालिका ९ का ३० वर्षीय पासाङ घिसिङ पनि कर्मा समूहको लुटेरामध्ये एक हुन् । घिसिङ मोटरसाइकल चोरीमा कुख्यात व्यक्ति हुन् । कर्मा समूहलाई लुटपाटका लागि आवश्यक मोटरसाइकलहरू उपलब्ध गराउने व्यक्ति तिनै घिसिङ हुन् । घिसिङले काठमाडौँमा भएका २० वटाभन्दा बढी मोटरसाइकल चोरीका घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । त्यसबाहेक घिसिङ आँपै पनि पटक पटक डाँका चोरीको कसुरमा मुद्दा चलिसकेका व्यक्ति हुन् । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम सिआरएसमा घिसिङविरुद्ध २०७९ भदौ ५ गते एउटा तथा भदौ १९ गते ३ वटा डाँका चोरीको मुद्दा दायर गरिएका व्यक्ति हुन् ।

आरोपित ४ : आले गुरुङ

कास्कीको सराङकोट स्थायी ठेगाना भएका २९ वर्षीय गुरुङ बौद्धको नयाँ बस्तीमा बसोबास गर्ने लुटेरा समूहको सदस्य हुन् । प्रहरीका अनुसार लुटपाटको समयमा कुनै समस्या आएमा पीडितहरूमाथि बल प्रयोग गर्न हतियारसहित उपस्थित रहने व्यक्ति रहेको र लुटपाटको स्थान नजिकै स्ट्याण्डबाई बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

आरोपित ५ : मनोज तामाङ (सुन पसले)

काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका ९ देउराली स्थायी ठेगाना भई बनेपामा सुन पसल सञ्चालक गर्ने व्यक्ति हुन् मनोज तामाङ । ३६ वर्षीय तामाङले कर्मा समूहका सदस्यले लुटपाट गरी ल्याएको सुन सस्तो मूल्यमा किनेर गाल्ने र स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको खुलेको छ ।

यसरी काठमाडौँमा सिक्रीको लुटपाट तथा डाँका चोरीमा संलग्न समूहका सदस्यहरू मध्ये कर्मा तामाङलाई भने प्रहरीले साउन १७ गते राति १०:२५ बजे गोली हानेर नियन्त्रणमा लिएको छ । प्रहरीले लुटेराहरूले घटनाको समयमा प्रयोग गरेको हेलमेट, कपडा, मोटरसाइकल, जुत्ता आदि बरामद गरेको छ भने नक्कली ५ थान नम्बर प्लेट पनि फेला पारेको छ ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा भएको विवरण अनुसार कर्मा तामाङ यसअघि ९ वटा डाँका चोरीमा संलग्न रहेको र गएको भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट भागेर फरार भएको पाइएको छ ।

प्रहरीका अनुसार कर्माविरुद्ध २०७९ भदौ ५ गते, भदौ १९ गते तीन गरी ४ थान मुद्दा प्रहरी वृत्त बौद्धबाट चोरीको कसुरमा चलेको छ ।

त्यसै गरी २०८० साउन २४ गते प्रहरी वृत्त ठिमीबाट चोरी, २०८० भदौ ११ गते प्रहरी वृत्त सातदोबाटोबाट चोरी, २०८२ भदौ ३ गते प्रहरी वृत्त स्वयम्भूबाट डाँका चोरी र २०८२ भदौ ५ गते प्रहरी वृत्त स्वयम्भूबाट डाँका चोरीमा अनुसन्धान हुँदै गरेको पाइएको छ ।

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर