काठमाडौंसहित यी चार जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम

दियोपोस्ट संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको पूर्वानुमान गरेको छ ।

विभागले सार्वजनिक गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार यी चार जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले नदी किनार, खोल्सानजिक तथा डुबान हुने क्षेत्रमा आवश्यक सावधानी अपनाउनुपर्ने जनाएको छ ।

यस्तै, ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, रुकुम पूर्व, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्लामा बहने साना नदी तथा खोलामा मध्यम जोखिम रहेको विभागले जनाएको छ।

मुख्य नदीहरूको अवस्थातर्फ हेर्दा कोसी, नारायणी, कर्णाली, महाकाली तथा तिनका अधिकांश सहायक नदीहरूमा आगामी तीन दिनसम्म जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । यद्यपि अधिकांश नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको विभागले जनाएको छ।

विभागले नदी किनार, तटीय बस्ती, सडक तथा पुल आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा पालना गर्न तथा स्थानीय प्रशासनको निर्देशनअनुसार सतर्क रहन आग्रह गरेको छ ।