नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालन

दियोपोस्ट संवाददाता

काठमाडौं । अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सिमलताल क्षेत्रमा माथिबाट झरेको लेदो र पहिरो हटाइएपछि सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान सिमलतालमा माथिबाट लेदो र पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुनासाथ पूर्वतयारीका रूपमा तैनाथ हेभी उपकरण र जनशक्ति परिचालन गरी बिहान १०ः५० बजे पहिरो पन्छाइएको र त्यसपछि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।

यद्यपि, उक्त क्षेत्रमा वर्षा अझै जारी रहेकाले पुनः पहिरो खस्ने जोखिम कायम रहेको सडक डिभिजनले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।