
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार सोमबार देशका पहाडी भू-भागका एक-दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक-दुई स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।
विभागका अनुसार मंगलबार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । बुधबार पनि कोसी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी र केही तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको विभागले जनाएको छ।
काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको छ ।
यस्तै ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) लगायतका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
विभागले उच्च जोखिम भएका नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन, स्थानीय प्रशासनबाट जारी हुने सूचना तथा पूर्वसूचनाको नियमित पालना गर्न तथा नदी किनारमा अनावश्यक आवतजावत नगर्न पनि अनुरोध गरिएको छ । साथै, यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न विभागले आग्रह गरेको छ ।