
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुर नजिक सुनकोशी नदीमा कार खसेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी)रवीन्द्रबहादुर सिंहका अनुसार कारमा चार जना सवार रहेका थिए।
प्रहरीका अनुसार खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई लिखु खोलानजिक काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.०८-००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएको थियो। फिक्कल गाउँपालिकाका २६ वर्षीय हेमबहादुर तामाङले चलाइरहेको बस उक्त बसले ठक्कर दिएपछि कार सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको कार मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजनाका ठेकेदार दिलकुमार लामाको रहेको र उनीसहित चार जना कारमा सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी, स्थानीयवासी तथा जनप्रतिनिधि उद्धार कार्यमा खटिएका छन्। तर माथिल्लो क्षेत्रबाट आएको भेलका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। समाचार तयार पार्दासम्म कारभित्र रहेका कसैलाई पनि बाहिर निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ।