
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न ३ हजार ३ सय १६ जनालाई पक्राउ गरेको जनाएको छ। यो तथ्यांक वैशाख १ गतेदेखि असार मसान्तसम्मको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना रहेका छन्।
उक्त अवधिमा प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषधसमेत बरामद गरेको छ। बरामद गरिएको लागूऔषधमा ८ हजार ६ सय ३२ किलो ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम गाँजा, ३१ किलो १ सय ६८ ग्राम ६ सय ७१ मिलिग्राम चरेस, ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम कोकिन, ११ किलो ८ सय ९४ ग्राम १ सय ६५ मिलिग्राम हेरोइन, १ सय २७ किलो १ सय ६० ग्राम १ सय ३७ मिलिग्राम अफिम तथा २१ किलो ६ सय ४६ ग्राम पोलेन रहेका छन्।
त्यसैगरी, नियन्त्रित लागूऔषधतर्फ ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेट ट्रामाडोल, १९ हजार १ सय १० ट्याब्लेट नाइट्राभेट, ३३ हजार ३ सय ९ ट्याब्लेट स्पास्मो, ९ हजार ५ सय ५३ एम्पुल डाईजेपाम, १६ हजार ६ सय ५४ एम्पुल फेनारगन तथा ८ हजार १ सय ३० एम्पुल बुप्रेनोर्फिन बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले लागूऔषध कारोबार तथा यससँग सम्बन्धित अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। साथै, समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र दुव्र्यसनबाट व्यक्ति तथा समाजमा पर्ने नकारात्मक प्रभावबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको प्रहरीले उल्लेख गरेको छ।