अवैध इन्टरनेट कल उपकरणसहित चार जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यका र मकवानपुरका विभिन्न स्थानबाट अवैध इन्टरनेट कल (भीओआईपी) उपकरणसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट बरामद गरिएका उपकरणहरू अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार जारी गरेको विज्ञप्तिअनुसार साउन १७ गते काठमाडौं, ललितपुर र मकवानपुरका विभिन्न स्थानमा एकैसाथ गरिएको खोजतलासका क्रममा भीओआईपी उपकरण तथा अन्य विद्युतीय सामग्री बरामद गरिएको हो।

अनुसन्धानका क्रममा बरामद भएका उपकरणहरू एनपीआर ७७ क्यासिनो डटकम, आईएमई ८८ डटकम र कालुटी ८८ डटकम जस्ता अनलाइन सट्टेबाजी वेबसाइट सञ्चालनमा प्रयोग भइरहेको प्रारम्भिक प्रमाण फेला परेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा गुरुङ, भाना श्रेष्ठ, जीवन खड्का र कृष्ण नारायण रहेका छन्। उनीहरूबाट विभिन्न परिमाणमा सिम बाकस (सिम बक्स), ल्यापटप, राउटर, डेस्कटप कम्प्युटर, मोबाइल फोन, इन्टरनेट उपकरण, निर्बाध विद्युत् आपूर्ति (युपिएस), चार्जर तथा एनसेलका सिमकार्ड बरामद गरिएको छ।

प्रहरीका अनुसार गोरखा गुरुङबाट १६ थान सिम बाकस, एक ल्यापटप, एक राउटर, दुई मोबाइल फोनसहित अन्य सामग्री बरामद भएको छ। त्यसैगरी भाना श्रेष्ठबाट २१ थान सिम बाकस, एक ल्यापटप, एक राउटर, २० वटा एनसेल सिमकार्ड तथा अन्य उपकरण फेला परेका छन्।

यस्तै, जीवन खड्काको साथबाट ११ थान सिम बाकस, आठ चार्जर, एक इन्टरनेट उपकरण, १२९ वटा एनसेल सिमकार्ड र दुई मोबाइल फोन बरामद गरिएको छ। कृष्ण नारायणबाट आठ चार्जर, एक युपिएस, एक इन्टरनेट उपकरण, एक ल्यापटप र एक राउटरसहित अन्य सामग्री बरामद भएको प्रहरीको भनाइ छ।

पक्राउ परेका चारै जनाविरुद्ध सम्बन्धित जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

प्रहरीले अवैध इन्टरनेट कल प्रणाली र अनलाइन सट्टेबाजीजस्ता गैरकानुनी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।