भालेश्वर मन्दिरमा आरती हेर्न जाने भक्तजनलाई केबुलकार टिकटमा ५० प्रतिशत छुट

दियोपोस्ट संवाददाता

काठमाडौं । चन्द्रागिरि हिल्सले भालेश्वर मन्दिरमा आयोजना हुने सन्ध्याकालीन आरतीमा सहभागी हुने भक्तजन तथा पर्यटकलाई लक्षित गर्दै केबुलकार टिकटमा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले साउन महिनाको प्रत्येक सोमबार साँझ ४ बजेपछि खरिद गरिने केबुलकार टिकटमा उक्त छुटको घोषणा गरेको हो ।

केबलकारको दुईतर्फी टिकटको नियमित शुल्क ८५० रुपैयाँ कायम गरिएको छ । छुटपछि भने ४२५ मै केबुलकार चढ्न पाउने कम्पनीले जनाएको छ । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमस्थलका रूपमा परिचित चन्द्रागिरि हिल्सले भगवान शिवको प्रिय महिना मानिएको साउनलाई विशेष बनाउने उद्देश्यले प्रत्येक सोमबार भालेश्वर मन्दिरमा विशेष सन्ध्या आरतीको आयोजना गर्दै आएको जनाएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि डाँडामा रहेको भालेश्वर मन्दिरमा साउन महिनाको हरेक सोमबार विशेष पुजा आजा हुने गर्छ । साँझको समयमा पुजासंगै आरती पनि हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र मानिएको छ । धार्मिक विश्वासअनुसार सतीदेवीको भाल (निधारमाथिको भाग) यस स्थानमा पतन भएकाले मन्दिरको नाम ‘भालेश्वर’ रहन गएको किम्बदन्ती छ । यसै कारण भालेश्वर मन्दिरलाई ५१ शक्तिपीठमध्ये एक महत्त्वपूर्ण शक्तिपीठका रूपमा पनि पूजा गर्ने परम्परा रहेको छ।

पौराणिक कथाअनुसार दक्ष प्रजापतिकी छोरी तथा पार्वतीको पहिलो अवतार मानिने सतीदेवीले आफ्ना पिता दक्षले आयोजना गरेको यज्ञमा आत्मदाह गरेपछि भगवान शिव शोकाकुल हुँदै उनको शव बोकेर ताण्डव गरेको बिश्वास गरिन्छ । त्यससंगै सृष्टिको रक्षा गर्न भगवान विष्णुले सुदर्शन चक्र प्रयोग गरी सतीदेवीको शरीरका अंग विभिन्न स्थानमा पतन गराएका थिए भन्ने धार्मिक विश्वास छ। सोही क्रममा चन्द्रागिरिको भालेश्वर क्षेत्रमा सतीदेवीको भाल पतन भएको मान्यता रहिआएको छ।