विद्यार्थीको कपाल जबरजस्ती काट्न  र सजाय नदिन परिषद्को आग्रह, उल्लंघन गरे कारबाही हुने

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको कपाल जबरजस्ती काट्ने वा कटाउन लगाउने जस्ता गतिविधि नगर्न सबै विद्यालयलाई आग्रह गरेको छ । पछिल्ला केही दिनयता यस्ता घटनासम्बन्धी उजुरी तथा जानकारी विद्यार्थीबाटै प्राप्त हुन थालेपछि परिषद्ले मंगलबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

परिषद्का अनुसार विद्यार्थीको इच्छा विपरीत कपाल काट्ने कार्यले बालबालिकाको शारीरिक, मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले विद्यालय परिसर वा कक्षाकोठाभित्र बालअधिकार विपरीत हुने कुनै पनि गतिविधि सञ्चालन गर्न वा गराउन नहुने  जनाएको छ । 

सूचनामा नेपाल बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि-१९८९ को पक्ष राष्ट्र रहेको, संविधानले बालबालिकाको मौलिक हक सुनिश्चित गरेको तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले पनि यस्ता कार्यलाई कानुनी रूपमा निषेध गरेको उल्लेख छ।

ऐनको दफा ६६ उपदफा (२) को खण्ड (घ) अनुसार घर, विद्यालय वा अन्य कुनै पनि स्थानमा बालबालिकामाथि गरिने यस्ता व्यवहार कसुर मानिने परिषद्ले जनाएको छ। यस्ता कार्य गर्ने व्यक्तिलाई ऐनको दफा ७२ उपदफा (३) को खण्ड (क) बमोजिम ५० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको पनि परिषद्ले प्रस्ट पारेको छ ।